गजल

अति कहर कटायो निर्दयीले
सरस पल भगायो निर्दयीले

छलकपट सबै यो भाग्यकै हो
सरल मन छकायो निर्दयीले

सुमधुर सपना भो छिन्नभिन्न
प्रिय अलग गरायो निर्दयीले

टनकटनक गर्दै पोल्छ घाउ
कुटिल शर चलायो निर्दयीले

सकल प्रहर दुख्दा रुन्छ आत्मा
हरबखत सतायो निर्दयीले

रहर सब उखेल्यो ध्वस्त पारी
फकिर सरि बनायो निर्दयीले

मृदुल क्षण विलाए खाक बन्दै
प्रति कदम कजायो निर्दयीले

अब कठिन छ एक्लै अड्नलाई
प्रबल भर लडायो निर्दयीले

सुखप्रद पथ काहीं छैन बाँकी
सकस दिन बचायो निर्दयीले

घरिघरि विष घोल्यो जिन्दगीमा
किन पकड जमायो निर्दयीले

छन्द – पुट छन्द
विश्राम – ७ मा

Add a Comment

Your email address will not be published. Required fields are marked *