नेताको जन्म दिन चाकरी र रवाफको अवसर

हिजो साँझ टुइटर सार्दै जाँदा नेपालका प्रधानमन्त्री केपी ओलीको जन्मदिन परेको रहेछ । प्रधानमन्त्रीलाई कसैले आफूसँग उभिएको तस्वीर सहित त कसैले प्रधानमन्त्रीको तस्वीर राखेर शुभकामना दिइरहेको देखियो ।

यसो विचार गरें यि प्रधानमन्त्रीलाई मैले पनि भेटेको हो एकादपटक कुराकानी समेत गरेको थिएँ भनेपछि यिसँगको पुरानो तस्वीर मसँग पनि थियो । फ्याट्ट मनमा तस्वीरसहित शुभकामना लेखौं लेखौं लागेर आयो । र टुइटरमा “एक राउण्ड फोटोको सदुपयोग गर्नपर्छ जस्तो लाग्यो ।” भनेर स्टासट पनि लेखी हालें । तर मेरो त्यो मनको कुरालाई मेरो अर्को मनले पटक्कै चित्त बुझाएन र आठ मिनेटकै अन्तरमा यस्तो लेख्न पुगें, “न जिउँदोको जन्ति न मर्दाको मलामी यसैले बालै फरर भन्ने कुरो ठिक लाग्यो ।”

केही साथीहरुले कसलाई हो यस्तो संकेत भनेर सन्देश पठाएर सोधे भने कसैले वालमा नै लेखेर सोधे । यसो विचार गरें यो कुरो सबैलाई जायजै लाग्ला भनेर यसरी उत्तर दिने प्रयास गरें ।

पूर्व प्रधानमन्त्रीहरुमा निधन भइसकेका मातृकाप्रसाद कोइराला, कीर्तिनिधि बिष्ट, सुर्यबहादुर थापा, मरिचमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि जिम्दै रहेका शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराईसँग एकादपटक रेकर्डरको चक्कामा कुराकानी भएकै हो । नेपालमा विभिन्न साप्ताहिक पत्रिकाहरुमा काम गर्दाका समयमा र अमेरिकामै रहेर पनि कतिपय प्रधानमन्त्रीहरुका भाषण टिप्नेदेखि लिएर पत्रिका भर्नका लागि अन्तरवार्ता लिएको थिएँ । तर अहँ यिनीहरुमध्ये अहिलेसम्म मेरो मनले कसैलाई आहा यो पो आदर्श नेता र प्रधानमन्त्री भन्न सकिरहेको छैन । स्वर्गीय मनमोहन अधिकारी परिवार र व्यक्तिगत वा पार्टीका सबालमा भने विवादित र बदनाम नबनेका कारण अन्यको तुलनामा स्वच्छ छवीका देखिए तर समय र भुमिकाले उनको योगदान पनि बति बालेर नै खोज्नुपर्छ । मरेरै गए पनि देश र नागरिकका लागि नेताले के गरे भन्ने कुरा इतिहासमा लेखिएको छ । अहँ नजिक भेटेको नाताले र तिनीहरुसँग कुम जोडेको तस्वीर सामाजिक संजालमा राखियो भने आफैंलाई बेइमानी गरेको ठहर्छ । यसरी आफूले कुम जोडेको सार्वजनिक व्यक्तिले देशका लागि भन्दा आफ्ना व्यक्तिगत र गुटका लागि जब काम गर्छ त्यस्ता प्रधानमन्त्रीलाई ‘मनले नहाँसे पनि दाँतले हाँस्नुपर्या छ आँतदेखि नमस्कार नभनेपनि बाहिर नमस्कार गर्नुपर्या छ’ भनेजस्तो गरेर जबरजस्ती तिनको जयहोस् भन्नुको कुनै तुक लागेन ।

यी सबै प्रधानमन्त्रीहरुले आ-आफ्नो समयमा अरबौंको भ्रष्टचार, कमिशन विभिन्न काण्डै काण्डका फेहरिस्ता नेपाली नागरिकलाई दिएर मर्ने मरेर गए । जिउँदा भूतपूर्व प्रधानमन्त्रीहरु अझै पनि देश र आम नागरिकको लागि भन्दा पनि देश दोहन गर्न र आफ्नै दुनो सोझ्याउनमा व्यस्त छन् । यिनीहरुलाई आदर किन गर्नु ? प्रजातन्त्रका लागि लडेका वा लोकतन्त्रका लागि जेल जीवन बिताएका भन्दैमा यिनलाई आम नागरिकले सधैंभरी त्यसैको व्याज तिर्नुपर्ने हो ? हो हिजोका दिनमा यिनीहरुमध्ये कतिले पंचायतकालमा जेलनेल प्रहरीका बुट-लाठी खाएर आएका हुन् तर त्यो भन्दैमा सत्तामा पुगेपछि यिनले गरेका भ्रष्टचार, नाताबाद-कृपावाद र मनपरी गरेका सबै कुरालाई पटक-पटक माफ दिनुपर्ने हो र ? हिजो धेरैले पंचायती कालमा ज्यान गुमाएका छन् । उता प्रजातन्त्र ल्याउन धेरै शहीद बनेका छन् । गणतन्त्र ल्याउने नाममा अझ धेरैले शाहदात प्राप्त गरेका छन् । तिनको लेखाजोखा आजसम्म कुनै सरकारले गरेको छ र ? यिनै टाठाबाठाहरुलाई देश दोहन गर्न तिनले शाहदात गरेका हुन् ? यस्ता आम नागरिकका प्रश्नका जवाफ कसले दिने ?

यसैले जब आम नेपाली नागरिकले आदर गर्ने र नेपाली नागरिकले गर्व गर्ने काम अहिलेसम्म यदी कुनै प्रधानमन्त्रीले गर्दैन र आम सर्वसाधारण नागरिकका नजरमा राजनेता ठहरिंदैन भने पार्टीकै कार्यकर्तामात्र नेता जबसम्म ठहरिन्छ सर्बसाधारणले यो हाम्रो प्रधानमन्त्री हो भनेर गौरव गर्ने वातावरण कहीं भए पनि रहँदैन । हामीले राणाकालदेखि पंचायत ढल्दै जाँदा र बहुदलदेखि गणतन्त्र आउँदासम्म पनि एउटा राजनेता पाउन नसक्नु हाम्रो दूर्भाग्य हो ।

देशको जनमतले बाम सरकार गठन गर्ने जिम्मेवारी दिएको छ तर बाम सरकारले आम मतदाताको चाहनाअनुरुप केही काम गर्ला भन्ने आशामाथि एक वर्षको अवधिका काम कारवाही हेर्दा निर्वाचनका समयमा दिएका आश्वासनहरुजस्तै गफै गफले समाचारका पानाहरु भरिएका देखिन्छन् । हिजो गणतन्त्र आउनुअघि पनि यिनै नेताहरु थिए आज पनि यिनै नेताहरु छन् । काम गर्ने ढंग छैन भनेर आम नागरिकले कसरी पत्याउने ? हिजो अर्को सत्ता हुँदा त्यो सत्ताको नजिक रहेका भ्रष्टहरु नै आज पनि यही सत्ताको वरपर भ्रष्टचार गर्न उद्दत देखिन्छन् ।

जन्म दिनमा आफ्नो चिनजानमा भएकाहरूलाई सम्झनु र शुभकामना दिनु स्वभाविक हो । तर सत्ता र शक्तिका नजिक भएकाहरूको जन्म दिनमा शुभकामना दिन बानी परेका हामी केही नेपाली राष्ट्रवादीहरूले आफ्ना देशका वा आफ्ना पार्टीका मात्र होइन भारतीय राजनितिक परिवारका नवराजाहरूको जन्म दिन कुरेर बसेको देखिन्छ । यिनका दायाँ वाँया,काखमा वा अँगालोमा बाँधिएका तस्विर प्रदर्शनले सम्बन्धितलाई शुभकामना दिए नदिएको थाहा होस नहोस तर आफ्नो हैसियत देखाउने मौका हुन्छ । यी खेतालाहरूलाई लाग्दो हो, तिनका सत्ताका मालिकहरुले हरेक महिना बर्थ डे मनाइदिए आफ्नो हैसियतको विज्ञापन गर्न बर्ष दिन त कुर्नु पर्ने थिएन ।

यसैले फेरी पनि भन्छु हामीले कसैको तस्वीर राखेर शुभकामना दिनुपर्ने र मृत्युपछि ओहो उहाँ त देशका लागि गतिलो नेता हुनुहुन्थ्यो उहाँ बितेर देशलाई ठुलो नोक्सानी भयो भन्न समेत कहिले नपाउँदै हाम्रो समेत जीन्दगी जाने भयो चिन्ता यसैमा छ ।

ट्वीटर:  @jaya_hos

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *