भर्जिनियामा सडक दूर्घटनामा हेटौंडाका चन्द्र भण्डारीको निधन

अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्चमा फेब्रुअरी २६ को बिहानै ७२ बर्षिय चन्द्र भण्डारीको सड़क दुर्घटनामा परी ज्यान गएको छ।

भण्डारी राती स्थानीय एक ग्याँस स्टेशनमा काम गरी घर फर्कंदै गर्दा बिहान ७ बज्नु अघि नै स्थानीय सड़क आई-४९५ नजिक लिजबर्ग पाइक सडकको ज़ेब्रा क्रसिंग नजिकै भण्डारीलाई प्रहरीले फेला पारेको थियो ।

दूर्घटनापछि गाडीचालक-गाडीको खोजी कार्य स्थानीय प्रहरीले जारी राखेको छ ।

नेपाल हेटौंडा निवासी भण्डारी सन् २०१७ को डिसेम्बरदेखि अमेरिका बसोबास गर्दै आउनुभएको पारिवारिक श्रोतले बताएको छ ।

भण्डारीले आउने अप्रिलमा नेपाल फर्कने तयारीका लागि टिकटसमेत लिइसक्नु भएको थियो ।

श्रीमती एक छोरा र एक छोरी नेपालमा रहेका र उहाँ केही समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी छोरी-ज्वाईंकासाथ हुनुहुन्थ्यो ।

रमाइलो मिजासका भण्डारी हिंड्दा शारिरीक ब्यायम हुने भन्दै बिहान हिड्न मन पराउने र आफूलाई ब्यस्त राख्नपर्छ भन्दै एक रात ग्याँस स्टेशनमा र अरू केही दिन नजिकैको डंकिन डोनटमा समेत कार्य गर्नुहुन्थ्यो ।

(दूर्घटनास्थल रातो चिन्ह लगाएको)

भण्डारीको शब जेब्राक्रसिंगबाटै उछिटिएर नजिक पुगेको घटनास्थलमा पुग्दा देखिएको आफन्तले नेपाली पोष्टलाई जानकारी दिनुभयो । घटना लगत्तै चालक फरार रहेकोले घटनाको वास्तविक अवस्था थाहा हुन सकेको छैन ।

वाशिंगटन डिसीको मेट्रो क्षेत्रभित्र पर्ने उत्तरी भर्जिनियाको फल्स चर्च धेरै नेपालीहरुको बसोबास रहेको स्थान मध्य एक पर्दछ ।

मृतकको सबलाई स्थानीय अस्पतालमा राखिएको जानकारी स्थानीय प्रहरीले परिवारलाई दिएको छ ।

यो घटनाको बारेमा थाहा हुने कसैले ७०३ – २८० – ०५४३ वा गोप्य सुचना दिने फोन नम्बर १ – ८६६ – ४११ – ८४७७ मा सुचना दिनुहुन प्रहरीले अनुरोध गरेको छ ।

नाम नखुलाई पनि दिइएको सुचनाले गिरफ्तारीमा सहयोग गरेमा प्रहरीले १ सय देखि १ हजार डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।

भर्जिनियामा केही दिनअघिमात्र दुई युवाहरुको कार दूर्घटनामा परी निधन भएको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *