छुटेका सपनाहरू !
|बामे सर्दा
भूइंको धूलोमा छुटेछन् केही थान सपनाहरू
उठ्न टेको लाग्दा टेकोमै टाँसिएछन्
दौडिँदा छुटेछन् केही
केही दोबाटोमा उनको बाटो कुर्दा
केही चौतारोमा थकाई मार्दा छुटेछन् सपनाहरू !
केही स्कूलमा ओछ्याइएको बोरामा
कालो पाटीमा
डस्टरमा अड्किएको खरीको धूलोमा
कलमको टुप्पोमा
भूइंमा पोखिएको मसीमा
र केही अँगालो हाल्दा साथीहरूको काँधमा छुटेछन् ।
मैले जीवन देख्ने
उनको अनुहारमा छुटेछन् केही
उनीलाई हेर्दा आफ्नै परेलीहरूमा छुटेछन्
चुम्दा ओठहरूमा,
सँगै बिताएका रातहरूमा
केही ओछ्यानमा
र सिरानीहरूमा छुटेछन् अरू केही ।
पिउँदा रित्तिएको गिलासमा
गिलासबाट पोखिएको फीँजमा
चुरोटको धुवामा
सुर्तीको धूलोमा
र
केही “पिच्च” थुक्दा टर्रो झोलमा छुटेछन् ।
कम्प्युटरको कि बोर्डमा
घरको भान्छामा
बेडरुममा, बेडरुमको ठूलो ऐनामा
बार्दलीबाट बाहिर हेर्दा केही बाटोमा
र केही बटुवाहरूको नजरमा छुटेछन् ।
छोरीका हातमा, पदचापमा
को खाई ? को खाई ?? गर्दा
उनका गाँसमा छुटेछन्,
उनलाई कुर्दा
पर मधुरो देखिने तुवाँलोमा छुटेछन् केही ।
सपनाहरू छन् र छुट्छन्
छुट्छन् र सुन्दर हुन्छन्
जीवन जस्तै,
नछुटे त सपनाहरू
सुन्दर सपना देख्ने रहर नै
मर्थ्यो नि जीवनको !