जरायोटारकी मकै साहुनी
|आलिया भट्टले
जन्मदिन मनाएको
समाचार
छापिएकै पानामा
खोजेँ एकछिन
साँझमा बेसार पैंचो माग्न गएकी
जरायोटारकी
मकै साहुनीको पनि समाचार
तर भेटिन ।
हरेक दिन
समाचार बन्ने घटना हुन्छ
जरायोटारकी मकै साहुनीसँग-
अस्ति भरखर
तोरी गोड्न जाँदा
अजाट्टिएर लडिन्
र, हात नै मर्काईन्
तर मर्केको ठाउँमा
लाउने ओखतीसम्म पाइननन्
गाउँमा !
अलिक अस्ति
छोरीको नागरिकता
दिलाई दिन विनय गरिन्
तर
बाबु नभै नहुने जवाफ पाईन्
आफ्नो कुरो भन्छुभन्दा
समयसम्म पाइनन्
अड्डामा !
भरखरै त हो
कुलो लाउन नसकेर
उब्जाउ हुन नसकेपछि
यसपालिको
कुत मिनाहा अनुरोध गरिन्
जवाफमा
बारि नै खोसिदिने आक्रोश सुनिन्
गुनासो बोकेर
कार्यालयसम्म पुगिन्
तर,दर्ता नै भएन कागज
वडामा !
तिनै मकै साहुनी
कुनै बेला मलाई भन्थिन् –
‘बालु बथान’आऊ
बुधबारे जाउँ
र,अमिलो-पिरो चटपटे खाउँ
यो उमेरमा मीठो हुने चिज
बूढो भएपछि स्वादिलो हुँदैन !
कागजको सोलीमा
भरेको चटपटे खाईसकेर
हेरेको थेँ कागजतिर
लेखिएको थियो एउटा समाचार –
जेनिफर लोपेजको
छैटौं इङेजमेन्ट !
आलिया र लोपेजको
समाचार पढिरहँदा
सम्झिएँ
त्यही उमेरमा
आइरन समेत खान नपाएर
रक्त अल्पताले
पैचो मागेको
बेसार जस्तै पहेँलिएकी
जरायोटारकी
मकै साहुनी !
कतिवटा
जन्मदिन
मनाईन होला उनले
वा,बिर्सिसकिन्
आँफै जन्मेको दिन पनि ?!
आउला नि त
एक दिन
पत्रिकाको कुनै कुनामा
उनको पनि समाचार !