डुब्न लागेको घाम
|जीवनको अन्तिम समयमा,
केही बोल्न मन लाग्यो
वरिपरि हेरेँ, कोही देखिन,
उही किर्-किर गर्ने पुरानो पंखा थियो,
उही डुब्न लागेको घाम ।
कती समयदेखि गुम्सिएर बसेको भावना,
खुलेर पोख्न मन लाग्यो
वरिपरि खोजेँ, कोही भेटिन,
उही एक्लो म थिएँ,
उती नै एक्लो मेरो मन ।
सधैँभरी मायाको लागि
तर्सेको म,
मुठ्ठिभर केही माया माग्न मन लाग्यो,
वरिपरि आशा राखेर मागेँ, कसैले सुनेनन्,
उही पन्छिएका हात थिए,
उही खोक्रो मन ।
शरिरले साथ छोड्न लागेको बेलामा,
एक्लो नपरुँ भन्ने सोच आयो,
वरिपरि आँखा डोर्याएँ तर कोहि पाइन,
उही लाचार सपना थिए,
उती नै विवश बुढेस काल लाग्नु को क्षण !