गजल

सकस नै सकस रैछ जिन्दगी
नसकिने बहस रैछ जिन्दगी

सहनु पर्दछ सहस्र वेदना
कठिनको तपस रैछ जिन्दगी

जति गरे पनि हुँदैन पूर्णता
शिशिर झैँ विरस रैछ जिन्दगी

फजुलमा पनि चुलिन्छ लाञ्छन
न सह्रनी न जस रैछ जिन्दगी

वय गए पछि रहन्न जाँगर
विरत वा अलस रैछ जिन्दगी

सुजनमा असल हुन्छ चिन्तन
कुजनमा हवस रैछ जिन्दगी

(प्रियंवदा छन्द)
४ मा विश्राम

Add a Comment

Your email address will not be published. Required fields are marked *