पत्रकारिताले जनताको पक्षमा पहरेदारी गर्ने : किशोर नेपाल
|
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ औं बार्षिक साधारण सभा मे ५ र ६ विश्व प्रेस स्वतन्त्रा दिवस अवसर पारेर शनिबार र आइतबार विविध कार्यक्रम गर्दै टेक्सस ड्यालसमा सम्पन्न भएको छ ।
साधारण सभाको पञ्चकन्याले उद्घाटन गरेका थिए । त्यस अवसरमा अतिथि लगायत नेपाली समुदायका अग्रजहरुले पत्रकारिताले समुदायको हितका लागि हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पूर्ब सभापति किशोर नेपालले पत्रकारिता अरुले अपेक्षा गरे अनुसार निष्पक्ष हुनै नसक्ने उल्लेख गर्दै यसले जनताको पक्षमा निरन्तर पहरेदारी गर्ने बताउनुभयो । ‘तपाइहरु सञ्चारकर्मी जहाँ रहेपनि पत्रकारिताको धर्म र संस्कृतिको ख्याल गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु,’ विशिष्ट अतिथि नेपालले भन्नुभयो ।
पाँच दशकदेखि निरन्तर पत्रकारितामा संलग्न नेपालले पत्रकार महासंघले पेशागत हितको पक्षमा पक्षमा वकालत गर्नुपर्नेमा जोड दिनुभयो । ‘पत्रकार महासंघ र प्रेस काउन्सिल एउटै जस्तो देखिन थालेको छ, सबै मिलेर महासंघलाई घचघचाउन जरुरी भैसकेको छ,’ उहाले भन्नुभयो ।
पछिल्लो समयमा नेपालमा स्वतन्त्रतामाथि अंकुश लाग्ने संकेत देखिएको उल्लेख गर्दै नेपालले अमेरिकी स्वतन्त्रताको भूमिमा बसेर स्वतन्त्रताको लागि सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
सोही अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशीले अमेरिकाको नेपाली समुदायलाई चेतना जगाउने, सुसूचित गर्ने काममा सञ्चारकर्मीहरुले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । सोही कार्यलाई प्रोत्साहन गर्नका लागि आफूले पनि सहयोग गर्दै आएको जोशीले बताउनुभयो ।
कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले अमेरिकामा आएका हरेक व्यक्तिका आफ्नै आफ्नै कथाहरु रहेको उल्लेख गर्दै सबैले यो अवसरको भूमिको उपयोग गरेर अघि बढ्न आग्रह गर्नुभयो । ‘१४ वर्ष अघि ग्याँस स्टेशनमा काम गर्दै गर्दा मैले यो अवस्थामा आइपुगौँला भनेर शायदै सोचेको थिएँ, तर यो भूमिले मलाई अवसर दियो । म जस्तै आँट गर्ने सबैलाई समान अवसर दिन्छ,’ उहाले भन्नुभयो ।
उहाँले नेजालाई आफूले कसरी सहयोग गर्न सक्छु भन्ने बारेमा सोचिरहेको समेत बताउनुभयो । नेजाका उपाध्यक्ष विकासराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेजाका सल्लाहकार तारा बराल ,एनआरएनका सल्लाहकार हरिबोल भण्डारी, शैलेशराज आचार्य, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, नेप्लिज अमेरिकन चेम्बरका अध्यक्ष मनोज सिग्देल, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र बोर्ड अफ ट्रष्टीका विनय अर्याल लगायतले शूभकामना व्यक्त गर्नुभएको थियो ।
नेजा अध्यक्ष सुदीप पन्तको सभापतित्व,महासिचव किरण मरहठ्ठाको संचालनमा भएको कार्यक्रममा सचिव सुरज भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
साधारण सभामा अमेरिकाको पूर्बमा बोस्टन, न्यूयोर्कदेखि लिएर पश्चिमको लसएन्जलल, सानफ्रान्सिस्कोसम्मबाट सहभागिता छ ।
साधारण सभाकै क्रममा आइतबार दिउँसो स्थानीय पशुपति तथा बुद्ध मन्दिरमा एनआरएनको प्रेसिडेन्सिल डिबेट भएको थियो ।
साँझ नेपाल पत्रकार महासंघका पूर्व सभापति किशोर नेपाल, नेपाल अमेरिका पत्रकार संघका संस्थापक अध्यक्ष गिरीश पोखरेल र नेपाल आर्थिक पत्रकार संघका पूर्व सभापति विजय घिमिरे सहभागिता रहेको पत्रकारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
पत्रकार शर्मालाई पुरस्कार
सधारण सभा उदघाटनकै क्रममा नेजाले हरेक दुई वर्षमा दिंदै आएको सामुदायिक पत्रकारिता पुरस्कार राशी १ हजार १ सय ११ डलर शिव शर्मालाई प्रदान गरिएको थियो । पुरस्कार आमा फाण्डेशनको सहकार्यमा नेपाल अमेरिका पत्रकार संघ( नेजा) ले वितरण गर्दै आएको छ । उक्त आमा फाण्डेशनका संस्थापक गौरी जोशी हुनुहुन्छ ।
छात्रवृत्ति कोष स्थापना
नेपाल अमेरिका पत्रकार संघले उत्तर अमेरिकामा आमसंचार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ती अक्षय कोषको स्थापना गरिएको छ । टेक्ससका व्यवसायी यमुना भट्टराईको सहयोगमा छात्रवृत्ती कोष स्थापना गरिएको हो । कोषका लागि भट्टराईले ३ हजार डलर सहयोग गर्नुभएको छ ।
उक्त जानकारी नेजाका सचिव सुरज भण्डारीद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।
तस्वीर : खरेलबाबु







