अघोरी बाबा र पत्रकार सम्वाद शृङ्खला गन्तव्य शेष छ ?
|बाबु,
किन घुर्क्याउँछौ वन जान्छु भनेर, किन थर्काउँछौ फेरि हतियार उठाउँछु भनेर किन कमजोरी देखाउँछौ मुलुक संघर्षमा जान्छ भनेर ? के तिमीले द्वन्द निम्त्याउन खोजेकै हौ त मुलुकमा ? तिम्रो त्यत्रो आँट छ ? अब तिम्रा पछि लाग्छ को ?
पहिलो प्रश्न: अब तिमीलाई के चाहिएको हो ? पद चाहिएको हो भने तिमीले एउटै मान्छे मारे पुग्छ । त्यसपछि तिम्रो पालो आइ गो’ । अन्तिम पद प्रतियोगिताले पाइँदैन, शायद त्यसका लागि शक्ति र समर्थन दुवै चाहिएला । अब भन त तिमी के का लागि वन पस्छौ ?
दोश्रो प्रश्न: ठीक छ,वन पसौला तर हतियार बोकेर कि नबोकी ? यदि हतियार बोक्छौ भने कसले दिन्छ हतियार ? अनि कसले दिन्छ दाना र नाना अनि दवा र दारु ? के हिजोको श्रृङ्ला टुटेको छैन त ? हिजो जुन कुराका लागि तमसुक र सहिछाप गरेका थियौ त्यो पुरा गरिदिन, जुन अपूर्ण थियो, फेरि वन पस्न खोजेका हौ ? र, तिमी नायक हुन सकेका छैनौ, खेताला नै हौ ?
प्रश्न तीन: बाबु हिजो त तिम्रो वचनमा विश्वास गरेर हजारौं मान्छे तिम्रा पछि लागे । तर जब तिमीले बारम्बार बाटो बदलेर पुल पनि भत्कायौ,अब तिमीसँग पुग्ने बाटो पनि छैन । उमेर पनि छैन । शाक्ति पनि छैन र स्वास्थ्य पनि छैन । भन त अब को लाग्छ तिम्रा पछाडि ?
प्रश्न चार: फेरि आँगन,फेरि तालिम,फेरि योजना र फेरि हत्या ? मार्ने के ? शरीर कि विचार ? थाहा होला नि तिमीलाई के चाहिं मर्छ र के चाहिं मारेर मारिन्न ? ल, मार्यौ रे, हिजो धनीलाई लुटेर हामी धनी भयौं रे, खाते, सडक छाप र चप्पल मार्काबाट कुबेर भयौ रे । अब कसका विरुद्ध लड्ने ? के का लागि ? बाँकी रहेका गरीब जति मारेर धनीहरुकै बस्ती मात्र जोगाउने हो कि अब पनि ? तिम्रो लडाइँ आम नागरिकको लागि हुँदै होइन, आफ्नो लागि हो, कुनै पदका लागि हो । तिम्रो रोगी महत्वाकाँक्षाको कुनै उपचार छैन, हुन सक्दैन । तिमी आफैं अलमलमा छौ ।
बाबु, मेरो प्रश्न सकिएको छैन । जब बहुदलीय संविधान,चुनावी प्रतिष्पर्धा र हार–जीत,शाक्तिको बाँडफाँड,संसदीय अभ्यास गर्नु नै थियो भने किन हतियार उठायौ र ३६ हजार मान्छे मार्यौ ? फेरि किन बाटो फेर्यौ र दल बदल गर्यौ ? कहाँ पुग्न हिडेका छौ ? कुन हो अन्तिम चौतारी ?
अझै मेरो प्रश्न छ– अब को लाग्छ तिम्रा पछि ? अनि कति छन् तिम्रा समर्थक ? के ‘गन’ देखाएर आफ्ना बनाउन सक्छौ ? हिजोका घाइते,युद्धपीडित,बेपत्ता पारिएका र घर जग्गा लुटिएकाहरुको पीडा लुकेको छ र ? बाबु, बरु अहिले जहाँ छौ,त्यहींबाट अन्तर्राष्ट्रिय कोर्टमा पुग्ने बाटोमा बार किन हाल्दैनौ ? सरकारले चाह्यो भने तिमीलाई ‘कोर्ट’मा उभ्याउन र मृत्युदण्ड सुनाउन कठिन होला र ? बाबु, खाते एकैचोटि कुबेर हुनपुग्छ भने उसको मानसिक सन्तुलन हराउन के बेर ? एक पटक आफैंतिर फर्क त ?
प्रश्न सकिएकै छैन । तिमीले जनजाति बनाएर नागरिक समाजमा होचो र अग्लो मान्छे उभ्याइदियौ । अनि आशा देखाएर युद्धकामी बनायौ,योद्धा बनायौ । त्यसरी कुनै जातिलाई होचो बनाएर खेतालो पार्नुहुने थिएन कि ? यो अपराध भयो । उसले शिर ठाडो पारेर हिड्न नपाउने गराईदियौ र आफ्नै वरिपरि घुम्ने रक्षक बनायौ । यो कर्म पनि गलत हो बाबु । नसुधारे तिमी उल्टै तारो बन्नेछौ ।
बाबु, बाल सेना तैयार गर्न टिपेका विद्यार्थी केटाकेटी जो सेनामा छानिएनन् तिनको किड्नी,आँखा र मिर्गौला बेचेको प्रचार हुन थालेको छ । झन् यो अपराधबाट कसरी जोगिन सक्छौ ? तिम्रा काला कर्तुत माथि दनादन साहित्य लेखिन थालेको छ । कसरी रोक्छौ ? कतिलाई तर्साउँछौ ?
प्रश्न छ बाबु,आत्महत्याको ‘विल’ किन पास गर्दैर्नौ ? शक्तिमा छौ पास गराऊ । स्वेच्छाले मृत्यु वरण गर्नु इज्जतकै कुरा होला । नत्र अब ६० सुरक्षा फौज लिएर हिंड तर बच्नेवाला छैनौं । के ती सुरक्षा गार्ड तिम्रा दास हुन र तिनले तिमीलाई जोगाउँछन् ?
अँ तिम्रो महत्वाकाँक्षा बुझ्दछु – यो देशको झण्डा लगेर बुझाऊ र भन ‘म आजीवन राष्ट्रपति बन्न चाहन्छु ।’ तिमीलाई राष्ट्रपति बनाइदिने छन् र त्यसपछि यस मुलुकका नेतालाई पदेन उपराष्ट्रपतिको मान मिल्ने छ । एक पटक प्रस्ताव त लैजाऊ । फेरि न वन पस्नु पर्छ न हतियार उठाइरहनु पर्छ न आफ्ना देशका मान्छे पहिले झैं मार्नु पर्छ न जनताको सम्पत्ति लुटिरहनु पर्छ । आखिर यो मुलुकलाई जहाँ पुर्याउन खोजेको हो त्योभन्दा राम्रो बाटो होइन र यो ? बाटो फरक भएर के भो र गन्तव्य र पहुँच त्यही भएपछि ।
तिमी आफ्नो देशका लागि निर्माण भएकै होइनौ तिमी त आफ्नो महत्वाकाँक्षाको पूर्तिका लागि बाँचेका हौ । आफ्नो स्वार्थ र महत्वाकाँक्षाका प्राप्तिका लागि जस्ता सुकै कुकर्म र अपराध पनि गर्न सक्छौ । तिम्रा लागि तिम्रो स्वार्थ भन्दा ठूलो राष्ट्र होइन, न इतिहास हो न संस्कृति न जाति । र म देख्तै छु तिम्रो महत्वाकाँक्षा रोगी छ र त्यो पूरा भएन भने तिमी अरुलाई पनि मार्छौं र आत्महत्या पनि गर्छौ । अन्यथा तिमी आफैं रक्षक टोलीलाई गोली हान्न लगाएर पनि आफ्नो हत्या आँफै गर्नेछौ ।
त्यसैले यस्तो स्थिति आउनु अघि नै तिमीले राष्ट्रपतिको सलामी खानुपर्छ । जन-गण-मन बझ्नुपर्छ तिम्रो सम्मानमा । तिम्रो गन्तव्य त्यही हो-योजना पनि त्यही हो र त्यसैका लागि तिमी निर्मित हौ । अब तिम्रो विरोध गर्ने अर्को छैन । तर ढिलो गर्यौ कि अर्काले उछिन्छ नि ।
अघोरी बाबाको यो एकालाप सुनेर आज पत्रकार बाबाको कुटीको ढोकैबाट फर्कियो । पत्रकारले मनमनै अनुमान त गर्यौ,बाबा आज किन यसरी प्रकट भए ? तर उस्ले बाबाको यो सन्देश सार्वजनिक गर्ने साहस भने गर्न सकेन ।
भयंकर टिप्पणि ।
यश लेखमा प्रयुक्त सबै वा कुनै एक दुई नियति उद्घाटित हुन सक्छन छिट्टै ।