जनवादी संस्कृतधर्मीका अथक योद्धा : श्याम तमोट
|गाउँ–गाउँबाट उठ !
बस्ती–बस्तीबाट उठ !
यो देशको मुहार
फेर्नलाई उठ !
हातमा कलम हुनेहरु
कलम लिएर उठ !
बाजा बजाउन जान्नेहरु
बाजा लिएर उठ !
हातमा औजार हुनेहरु
औजार लिएर उठ !
साथमा केही नहुनेहरु
आवाज लिएर उठ !
गाउँ–गाउँ … …
बस्ती बस्ती … …
झिल्का–झिल्का बल्नेहरु
ज्वाला भएर उठ !
देशका लागि लड्नेहरु
एकजुट भएर उठ !
गाउँ–गाउँ … …
बस्ती बस्ती … …
– श्याम तमोट
जनवादी संस्कृतधर्मी श्याम तमोटको जन्म भोजपुरको टक्सारमा १५ असार २०१० सालमा जन्मनु भएको थियो । आमाबाबु शुभलक्ष्मी, विष्णुकुमारी तमोटको वात्सल्यतामा हुर्कनु भयो । माथि उल्लेखित गीत एवम् रक्तक्रान्तिको ज्वालामुखीमा, आउ मिलाउ, हाम्रा हातहरु जस्ता कालजेयी गीतको सिर्जना गर्नुभयो । यसको गौरव टक्सार भोजपुरलाई जान्छ । यी र अन्य उहाँका गीतहरु राष्ट्र सांस्कृतिक सम्बर्धन निर्माणमा अतुलनीय योगदानलाई कसैले पनि नकार्न सक्दैन ।
महिला मुक्ति नाटक र मेरो जेल यात्रा
२०३५ सालमा सुनसरीबाट पत्रिका प्रकाशनको लागि अनुमति माग्दा राजनैतिक गतिविधिमा लागेको कारण सुनसरीबाट पत्रिका प्रकाशनको अनुमति पाइन । मोरङबाट अभिवादन पत्रिका प्रकाशनको लागि आवेदन दिएको थिए । तत्कालीन मेरो बुवा शम्शेरबहादुर पराजुली जिल्ला प्रहरी कार्यालयमा असइ पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँको सहयोगको कारणबाट अभिवादन प्रकाशन गर्ने अनुमति प्राप्त गरेको थिए ।
२०३५ सालबाट अभिवादन प्रकाशन प्रारम्भ गरिएको थियो । अभिवादनलाई स्तरीय र लामो समयसम्म टिकाई राख्नका लागि आदरणीय दाइ लवप्रधान मित्र शेरबहादुर अम्बर रमेश विष्ट, प्रमोद श्रेष्ठ (भोटु दाइ) सीताराम पोखरेल, वम देवान, गोविन्द विकल आदिको स्नेहपूर्ण व्यवहार र सहयोगको कारण अभिवादन पत्रिका त्यसबेला स्तरीय र नियमित रुपमा प्रकाशित भइरहेको थियो । श्याम तमोटद्वारा लिखित नाटक ‘महिला मुक्ति’ नाटकलाई अभिवादनको तर्फबाट प्रर्दशनको चाजोपाजोको रिहलसल गरेर अन्तिम तयारीमा थियौ ।
कोशी अचलाधीश कार्यालयबाट पूर्व स्वीकृत लिएर प्रदर्शनको अन्तिम तयारीमा थियौं । तत्कालीन कोशी अञ्चलाधीश शत्रुधनप्रसाद सिंहलाई कार्यक्रममा उपस्थितको लागि निम्तो दिन आफै गएको थिए । यसरी अञ्चलाधीश सिंहद्वारा कार्यक्रम प्रस्तुत नगर्नुको आदेश पत्र थमाएको थियो । वीरेन्द्र सभागृहलाई ४।५ घण्टा अघिदेखि नै प्रहरीको टोलीले घेरिएको थियो । कार्यक्रम स्थलबाट तुरुन्त निस्कन प्रहरी कमाण्डले उर्दी जारी गरेको थियो । अभिवादन पत्रिका प्रकाशनमा प्रतिबन्ध र मलाई जेल चलान गरिएको थियो । यस किसिमबाट श्याम तमोटद्वारा लिखित महिला मुक्ति नामक नाटक प्रदर्शनको चाजोपाजो मिलाउने क्रममा झण्डै–झण्डै १ महिना जेल जीवन विताउनु परेको थियो ।
श्याम तमोट जनताको पंक्तिमा उभिनु भयो
पंचायती तानाशाहीको वर्वरतामा वाक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको के कस्तो अवस्था थियो त्यसबेलालाई बुझ्न सकिन्छ । पंचायती तानाशाहीको वर्वरतामा पनि मित्र श्याम तमोटद्वारा लेखिएको नाटक ज्यादै ससक्त थियो । सानो उमेरमा नै महिला मुक्ति नाटक लेखेर आफूलाई परिपक्व लेखकको रुपमा स्थापित गरिसक्नु भएको थियो । उहाँको जीवन सरल र सबैका लागि आदर प्रतीकको रुपमा आफूलाई सतीसाल झैं उभ्याउनु भयो । जसले जस्तै कठिन तथा अप्ठेरोमा पनि झुक्न जानेन । सुन्दर देश, सुन्दर समाज निर्माणका लागि उहाँका योगदान उहाँका सिर्जनाहरु मुलुकभरिका शोषित पीडित तब्काका जनता तथा आउने पिढीले समेत उहाँलाई सधै सम्झि रहनेछ ।
राष्ट्र र जनताप्रति अगाघ स्नेह बोकेर आफूलाई त्यसै दिशामा समर्पित हुनु भयो । नव सांस्कृतिकका संवाहक श्याम तमोटका सुरुकालीन लेखनका वारेमा उहाँकै शब्दमा यसरी भन्नुहुन्छ “२०३४ सालको अन्ततिर धरान छाता चोकको चतरा लाइनतिर कवि वम देवान, गोविन्द विकलहरु मिलेर चलाउनु भएको सयपत्री प्रेसमा जनताका कलाकार रामेश श्रेष्ठ दाइसँग प्रत्यक्ष चिनाजानी भयो । उहाँसँगको भेटघाट चिना जानी हुनु अघि नै गाउँ गाउँबाट उठ गीत उहाँको हातमा पुगी सकेको रहेछ । उहाँलाई मनपरेर धेरै गाउनु भएको रहेछ । वस दुइजना वीच गाढा साइनो वस्यो गीतका कारण । मैले लेखेका अरु गीत देखाए, सुनाए र जिम्मा लगाए । त्यसपछि यताका अहिले सम्मका दिनहरु हामी एकैतर्फको यात्रामा सहकार्य गर्दै निरन्तर लागि रहेका छौं ।”
अझ अगाडि श्याम तमोट भन्नु हुन्छ “यसरी गीत संगीतको सेवा गरेर दिन वितिरहेका छन् । कुनैबेला सुन्न सुनाउन अपराध मानिने जनताका प्रिय गीतहरु आज सञ्चारमाध्यममा बजीरहेको सुन्न सकिने भएको छ । तर अझै यसको प्रचारप्रसार उचित मात्रामा भइरहेको छैन । ऐतिहासिक योगदान पु¥याएका गीतहरुको उचित संरक्षण भएका छैनन् । दिनान दिन विदेशी शैली प्रभावित वा नक्कल गरिएका गीत संगीतले बजार विस्तार गरिरहेको अवस्थामा प्रगतिशील गीतहरुको संरक्षण कार्यमा लागि रहेको छु ।”
कालजेयी गीत एक शब्द चित्र
पंचायती कालरात्रीमा जब–जब यो गीत गुञ्जयमान भयो । यो गीतले मुलुकका शोषित पीडित उत्पीडनमा परेका जो सुकै किन नहोस् ती सबैको चेतनामा घचघच्याउने कार्यको काम गरो । मुलुकभरिका शोषित पीडित जनता पंचायती तानाशाहीका बिरुद्ध उठे । यो गीत पूर्व मेचीदेखि पश्चिम महाकाली, उत्तरमा हिमालदेखि तराईका फाँटहरुमा यो कालजेयी गीत लहलाउन थाल्यो । यो गीत वीउको रुपमा झाङ्गियो । जताततै उम्रिएर लहलाउन थाल्यो । यहाँ सम्म की यो गीतमा भरिएको जाँगर, उत्साहलाई उर्जाा दिनकै लागि पनि धानका बालाहरु लहलाउन थाले । मकैका घोघाहरु पनि मुस्कुराउन थाले । यो गीतको गुञ्जन हुँदा चरा चुरुङ्गी पनि स्तब्ध हुन्थे । हिड्दा–हिड्दै गरेको बटुवा स्तब्ध भएर गीतको सार आफूमा संचार गर्थे । पहाड तराई जहाँ सुकै भारी बोकेका पुरुष महिला जो सुकै भए पनि भारी बिसाएर सुन्ने गर्थे । वास्तवमा भन्ने हो भने यो गीत मुलुकको भलो चाहने, मुलुकको उन्नति चाहने जो सुकै होस् । कुनै राजनैतिक आस्था राख्ने भए पनि गीतलाई आत्मसात गरे । यो गीतले आफूलाई कालजेयी गीतका रुपमा दर्जिनुका साथै मुलुकको अस्तित्व रक्षार्थका लागि चट्टाने सैनिकको रुपमा रुपान्तरण गरेको थियो ।
नवजनवादी सांस्कृतिक मोर्चा विहारको द्वितीय प्रान्तीय अधिवेशनमा विहारले नेपाली साहित्यकारहरुलाई निमन्त्रणा गरेको थियो । त्यस टोलीमा जे.वी. टुहुरे, ऋतु आसीक, मधु पोखरेल, गोपाल गुरागाई, डम्वर वि.क. असीम (जोगबनी निवासी) आदि सम्मिलित भएर लखिसरायको २ दिने कार्यक्रममा भाग २०४७ साल तिर लागि रेलबाट प्रस्थान गरेका थियौं । गाउँ–गाउँबाट उठ यो गीतलाई जे.वी. टुहुरेले गाउनु भए पछि गीतको महिमा बढ्यो । यसलााई हिन्दीमा तत्कालै रुपान्तरण गरियो । यसलाई हिन्दीमा पनि गाइएको थियो । यो गीत हिन्दी भाषामा भारतीय साहित्यकारले श्रवण गरे पछि जे.वी. टुहुरेलाई मौरीको रानो झैं घेरेर अंकमाल गरे । उहाँ प्रति सम्मान भाव प्रकट गरियो । यहाँसम्म कि उहाँले खादै गरेको खानाको टपरीमा सबैले हाथ हाल्दै त्यहाँबाट निकालेर खाएका थिए । यसो गर्नु भनेको जीवनका सबभन्दा नजीकको व्यक्ति भनेर सम्मान गर्नु नै हो । सबैभन्दा प्रिय व्यक्तिको दर्जा दिनु हो । जे.वी. टुहुरे प्रति अपार श्रद्धाको दृश्य थियो । हाम्रो टोलीले गौरान्वित महसुस गरेको थियो । यस किसिमबाट ओजनदार गीतमा परिणत भएको थियो । इतिहासको त्यस कालखण्डदेखि आजसम्म पनि कहिले नअघाउने, कहिले झर्को नलाग्ने गीतको रुपमा दर्ज भएको छ । साँच्चै भन्नु पर्दा यो गीत यो युगको प्रतिनिधित्व गर्दै कालजेयी गीतमा रुपान्तरण भएको छ । युगलाई नै दिशा निर्देश गर्ने गीतमा परिणत भएको छ ।
मेरो पत्रकारिता
मेरो पत्रकारिता प्रति झुकाव बढी रहेको अवस्था थियो । राजविराजबाट प्रकाशित हुने गोरेटो साप्ताहिकमा मेरो लेखनधारा शैशवकाल मै थियो । त्यतिबेलाको पत्रकारितामा पत्रिकालाई नियमित बनाउन समाचार संकलन, आर्थिक जोहो आदिका लागि देशका दूरदराज क्षेत्रमा पुगेर पत्रिकालाई त्यस क्षेत्रमा पुर्याउने आदि कार्य गरिरहेको अवस्था थियो । त्यसका साथै राजनैतिक चेतका हिसाबले नेपाल कम्युनिष्ट पार्टी (पूर्व कोशी) तत्कालीन इटहरीका ससक्त युवा रमेशकुमार विष्टको संयोजनमा पार्टीमा आवद्ध भइसकेको क्रम थियो । २०३१ सालतीर वम देवानको प्रेसमा के भनेर सम्झाउनु मेरी छोरीलाई कविता संग्रह प्रकाशित भएको थियो । प्रशासनको कोपभाजनबाट जोगिनका लागि आर्यभूषण प्रेस वनारस लेखिएको थियो ।
जनकपुरमा आदरणीय दाइ लेखनाथ शर्माद्वारा नयाँ पाइलो साप्ताहिक पत्रिकामा टिम मिलेर पत्रिका निकाल्न आग्रह गर्नु भयो । ती आग्रहलाई स्वीकार गरेर म र धनकुटाका मित्र जीवप्रसाद पोखरेल पहाडी जीवन सँग अझ गाढा भएर बुझ्न जान्नका लागि झण्डै १ महिनाको यात्रामा हामी निस्कियौं । ती सामग्री लिएर फर्किए पछि नयाँ पाइलोलाई ससक्त बनाउन विभिन्न क्षेत्रबाट सामग्रीको ओइरो नै लागेको थियो ।
२०३४ साल तीरको कुरा हो । धरान, विराटनगर, इटहरीमा हुने साहित्यिक कार्यक्रममा साहित्यकारको जमघट तथा आफूले पनि बाक्लै उपस्थिति जनाउन थालेको थिए । ती कार्यक्रमहरुमा इटहरीबाट रमेश विष्ट, शेरबहादुर अम्बर, श्याम भाइ गौतम, म प्रमोद श्रेष्ठ (दाइ) धरानका साहित्यकार कार्यक्रममा भाग लिने, कविता वाचन गर्ने उत्कठं हुनुहुन्थ्यो । वम देवान, गोविन्द विकल, केशव आचार्य, मञ्जुल, कुन्ता शर्मासँगको क्रममा श्याम तमोटसँग पनि परिचय भएको थियो ।
राष्ट्रिय स्वाभिमान, जनताप्रति आफ्ना उत्तरदायित्व बोध गराउने, जनचेतनाका स्वरहरु देशभरि व्याप्त गराउने इमान्दार देशभक्त हुन् । अन्तर्राष्ट्रियताका भावना ओलप्रोत गराउने व्यक्ति हुनुहुन्छ । श्याम तमोट खुला पुस्तकको रुपमा आफूलाई जहिले पनि त्यसै रुपमा पस्किने गर्नु भएको छ । जहाँ जताबाट पढे पनि जहाँ जुन कोणबाट हेरे पनि जनवादी संस्कृतिधर्मीताका अथक योद्धाको रुपमा आफूलाई उभ्याएउनु भएको छ भन्दा अत्युक्ति नहोला ।
श्याम तमोट नेपाली माटोमा उम्रिएका सम्पूर्ण विश्वका शान्तिकामी जनताको निम्ति, स्वतन्त्रका स्वरहरुलाई अझ व्यापक बनाउँदै विश्व बन्धुत्वको भाइचारालाई अझ विस्तृत योगदान पुर्याउन सक्नु हामी नेपालीका लागि पनि गौरवको कुरा हो ।
श्याम तमोटद्वारा सिर्जित संस्कृतिको विकास तथा प्रर्वद्धनमा उहाँका योगदान अतुलनीय छ । उहाँ स्कूल पढ्दादेखि नै शोषित पीडितको पक्षमा आफूलाई उभ्याउँदै आउनु भएको छ । वाल्यकालदेखि नै आफूलाई त्यसैको पक्षधरतामा आफूलाई उभ्याएर अझै जोश जाँगरमा कमि भएको छैन । उहाँ थाक्नु भएको छैन । उहाँ निरन्तर अझै आफूलाई झन्–झन् सक्रियता बढाइ रहनु भएको छ । आदरणीय मित्र ! श्याम तमोट तपाईंको लगनशीलता जनता प्रतिको माया, जनता प्रतिको तपाईंको अटल विश्वास, देश प्रतिको समर्पण, अन्तराष्ट्रिय मानव जातिका लागि तपाईंले गरेको योगदान अतुलनीय छन् । ती कार्यले निरन्तरता पाइ रहनु पर्छ । तपाईंमा अझ उर्जा आइरहोस् । हामी तपाईकै बगलमा नै हुनेछौ । हामी तपाईंकै साथमा हुनेछौं । तपाईका यी शब्दहरु पस्किदै आजलाई यतिमै कलमलाई सुस्ताउँछु, “जनपक्षीय गीत संगीतका अभियन्ताहरु रामेश, रायनहरुको साथमा सार्थक जन संगीत प्रतिष्ठान नेपाल नामको संस्था बनाएर केही काम गरिरहेका छौ ।”
ritu524646@gmail.com