तमोरछेउको फलामेटार
|साईंला !
कति डिग्री सेण्टिग्रेट
खडेरी परेपछि
एउटा प्यास तिर्खा बन्छ ?
बढ्दै बढ्दै
कत्रो भएपछि
एउटा फोको
गलाको गिर्खा बन्छ ?
हरेक दिन
सुसेल्दै हिंडेको
तमोरले
मलाई नै सङ्केत गर्छ
बगाउँदै ल्याएर किनारमा छाडेको
फूलका पत्रहरू
मलाई नै दिएर जान्छ !
पहिले त
आरनमा तताएर
धेरै फलाम चोबलेको छु
तमोरको छालमा
र पाइन हालेको छु
आँफैले बनाएका
कर्द र फालीमा
तर तातो फलामले
डाम्दा पनि
कहिल्यै आत्था नभनेपछि
मैले पनि बुझ्न थालेँ –
तमोर मलाई माया गर्छ ।
तातो आरन नै
छातीमा झुण्ड्याई दिए पनि
कसले पो भनेको छ र ?
म डढेर सकिएँ भनेर
प्रेममा चुर्लुम्म डुबेको बेला !
माया गर्न त
साईत नचाहिने रहेछ !
प्रणय दिवसमा मात्र
फूल साट्ने
तिम्रो शहरको नक्कललाई
तमोरले बगाएर
मुलघाट कटाएपछि
फेरि त्यो नक्कल
यता आएको छैन ।
तर, कहिलेकाहीं
बादल मडारिन्छ
र, गिद्धे नजर लगाउँछ
आवेशमा आउँछ
र, पानीको सट्टा
चट्याङ्ग बर्साउँछ !
हाम्रो माया देखेर
आरिस लगेरै त होला
बादल
उत्तेजित बन्छ र कालो हुन्छ
अन्धाधुन्ध चम्कन्छ
र, असिना खसाउँछ ।
तर चट्याङ्ग पर्दैमा
कुन माया पो टुटेको छ र ?
असिना झर्दैमा
कुन माया पो फुटेको छ र ?
***
घाँटीमा बढेको
गिर्खा दुख्न थालेपछि
हिजो भरखर
तेनुपा आईपुगेका
अहेबलाई देखाएँ
सिटामोल दिएका छन्
ज्वरो त छैन
तैपनि खानु भनेका छन्
अस्ति भरखर
गर्भ जाँच गराउन गएकी
गढिगाउँकी
देवकीलाई पनि
आइरन चक्की नभएर
सिटामोल नै दिए रे !
जसलाई पनि
सिटामोल दिएर पठाउने
तेनुपाका अहेव
र, गाउँका सबैलाई
डुलुवा लागेको छ भन्दै
अण्डा भाकल गर्न लगाउने
हंसमोरङ्गका
दलवीरे काका
मलाई किन उस्तै लाग्छ हँ !?
मलाई त चाँडो निको हुनुछ
बगरको छेउमा उभिएर भए पनि
तमोरलाई केही भन्नुछ
सङ्केत बुझेपछि
ईशारामै भए पनि
जवाफ फर्काउनु पर्छ ।
प्रेमका राजमार्गहरू
यसरी नै त हुन खनिने
बिस्तारै बिस्तारै
भावनाका गैंतिले !
साईंला,
पठाई दिन सक्छौ
अलिकति वीरे नून ?
म त्यसैमा मिसाउँछु नि
पाखनबेद
र, बनाउँछु झोल ओखती ।
तर नुनसँग
नपठाउनु तिम्रो नियम
मसँगै छ
मेरो कानून
आफ्नो कानूनमा मात्र
हुन्छ एउटा विशेष धारा
जहाँ लेखिन्छ –
‘मौनतामा सुनिएको आवाज
प्रेमको सङ्केत हो;
शान्ति चाहनेले प्रेम नगर्नु !’
तिमीलाई पनि
भनुँला नि म
तमोरलाई भेटेपछि
उसले खोजेको
शान्ति हो कि साँचो प्रेम !
साँचो प्रेममा शान्ति हुदैन
पूर्ण शान्तिमा प्रेम बढ्दैन ।
शान्ति चाहनेले
प्रेम नगरून
प्रेम चाहनेले
शान्ति नखोजुन् !
आहा कति मीठो हौ !
साह्रै राम्रो वर्तमान यतार्थ चित्रण।
कबिता पढेर मन रमायाे।