कथा- जन्मदिनको उपहार

आस्था दिनभरिको कामले थाकेर चर्को घामलाई छेल्न एकदिन ठूलो रुखमुनी बसिरहेकी थिइन् । आकाशवाणीजस्तो उनको कानमा गुञ्जियो- आस्था, म
तिम्रो बर्षौंदेखि पर्खाइमा रहेको जन्मदिनको उपहार दिन आएको ! त्यो आवाज उनको मानसपटलमा छायो । अनि यता उता हेरिन् तर कोही देखिनन् । अनि त्याहाँबाट उठेर हिडिन् तर त्यहि कुरा मनमा खेलिरह्यो ।

आस्थाले एकदिन मलाई त्यहि रुखमुनी बोलाईन् | आफ्नो मनमा रहेको जन्मदिनको उपहारको चाहना, बर्षौंदेखिको पर्खाई र त्यो पाएको क्षणका खुशी बाँड्न । मनमा कहिल्यै नपाएको उल्लास थियो र संसारै फेरिए जस्तो खुशी थिइन आस्था । निकै दिन देखि मनमा खेलिरहेको कुरा आफ्नी प्रिय साथीलाई भन्ने जमर्को गर्दै थिइन् आस्था ।

एकपछि अर्को कुरा गरिरहिन् । उनको खुशीसँगै म पनि खुशी हुँदै गएँ तर मनमा के रहेछ त त्यो अमूल्य उपहार भनेर कौतुहुलता रहिरह्यो । म छिटोभन्दा छिटो त्यो उपहार के हो भनेर जान्न चाहन्थें तर आस्था त्यो उपहार पाउन गरेको अपेक्षा अनि नपाएर निराश बनेका दिनहरु मलाई पहिला भन्न चाहन्थिन् । उनले पछि भन्छु भनेर जीद्दी गरेपछि मसँग धैर्य गर्नु सिवाय मेरो केहि लागेन ।

म सुनीराखें उनका सबै गन्थनहरु । घरीघरी उनका आँखाभरि आँशु टलपल गर्थे । सायद उनको आँशुको टिलपिल मलाई थाहा नहोस् भनेर आकाशतर्फ हेर्थिन् । म न त उनलाई सम्झाउन सक्थें न त कुरा बीचमा नै काट्न । उनको भन्ने शैली एउटा कथाकारको भन्दा फरक थिएन । लाग्थ्यो तिनी आफ्नो जन्मेको दिनलाई अथवा आफू यो धर्तीमा आएको दिनलाई साह्रै गौरवान्वित किसिमले हेर्थिन् ।

घरिघरि त मेरा पनि आँखाबाट आँशु आउँथे उनका भावुक शब्दसँगै । म त्यसैपनि अरूको दु:ख देख्न नसक्ने । त्यसमा पनि आस्थाको भावुकता र उनका पुरा नभएका आशाले मलाई पनि घरिघरि भावुक बनाउँथ्यो ।

म विचविचमा सोंच्थें आस्था किन त्यस्तो उपहारको पर्खाइमा बसी ? उनको अपरिपक्व उमेर अनि यो मायालु संसारलाई बुझ्न नसकेर त होला नि भनेर आँफैलाई बुझाउँथें । अनि सोंच्थें समय आएपछि आँफै बुझ्छिन् । सबैको भाग्य पहिल्यै तोकिएको हुन्छ भन्छन् तर त्यही कुरालाई समयसँग जोडिएर आउँदै गरेको हुन्छ भन्ने कुरा आस्थाले बुझ्न नसकेकी होलाजस्तो लाग्थ्यो मलाई ।

यूरोपको सुविधा सम्पन्न ठूलो शहरमा जन्मे पनि आस्थले आफ्नो हजरबुबा हजुरआमाको जन्मथलो नेपालको दुर्गम ठाउँमा जानुपरेछ । त्यतिबेला जन्मदिन भन्ने त थाहा हुन्थेन कताको जन्मदिनको उपहार ? आस्थाको आमा-वुवा खेतीपाती र अरु सन्तती हुर्काउन व्यस्त, त्यसैपनि गाउँ-घरमा न त जन्मेको दिन नै थाहा हुन्थ्यो न त कुनै उपहारको खोजी नै कसैले गर्थ्यो ।

आस्थाको जीवनको बीसौं बर्ष जन्मदिनको दिन नै पत्तो नपाई बितेछ । बीस-बाईस वर्षको उमेरपछि उच्चशिक्षाका लागि शहर पसेपछि अरु शहरका साथीहरुले जन्मदिन मनाएके देखेर आस्थाले पनि आफ्नो जन्मदिन सम्झिन थालीन् । यो धर्तीमा आएको र जीवन पाएकोमा खुशी हुन थालिछन् ।

आस्था भन्छिन “म कुनै महंगा सामानको पर्खाइमा होईन मलाई कसैले मेरो जन्मदिनको केही सानो उपहार देओस भन्ने मनमा राखिरहन्थें । विहे गरेपछि श्रिमानसँग आश गर्थिन् तर भन्न सक्दिनथिन् । उनका श्रिमानले केहि किन्न रोकटोक नगरेपनि जन्मदिनको दिन उपहार दिने चलन गरेनन् । जब जन्मदिन आउँछ, आस्था त्यही उपहारको प्रतिक्षा गर्थिन ।

उनी सम्झिन्छिन्-एकपटक त श्रिमानसँग आफ्नो कुरा राखिन् । आफ्नो मनसाय राख्दापनि भनेजस्तो भएनछ । विहे गरेको पहिलो बर्ष त उनी एक महिना पहिला देखिनै उपहारको प्रतिक्षा गरेकी रहिछन् । जन्मदिन आयो तर उपहार आएन, निराश भईछन् । घरि घरि त उनी सोच्थिन् मेरो जन्मदिनमा खुशी अरु कोही पो छ की ? म जन्मेको खुशी हुने अरु साथी, बुबा आमा पनि त हुन सक्छ नि भनेर आस्थाले भन्दा मेरो मन फुलेर आउँथ्यो । उनको जति उमेर बढेपनि जन्मदिनको उपहारको चाहना न त हट्यो न त पुरा नै भयो ।

आस्थाको जीवनमा मिल्ने साथीहरु नभएकापनि होइनन् तर कसैले जन्मदिनको उपहार भनेर दिएको सम्झना छैन । एकपटक उनले सबैभन्दा नजिकका साथीलाई मलाई कसैले जन्मदिनको उपहार दिए खुशी हुन्छु भनेकी रहिछन् । त्यो साथी भेटेको बर्ष जन्मदिनको उपहार दिन्छ होला भनेर एक महिना देखि मनमा राखेकी रे ! तर धेरै आशा गरेको त्यो वर्ष पनि उपहार नपाएपछि धेरै निराश भईछन् । आस्था भन्थिन् “म लोभी भएर उपहारको आशा गरेकी होईन । मेरो मनको करा बुझ्न मात्र खोजेकी छु ।”

आस्थाको बढ्दो उमेरसँगै परिपक्वता पनि छिप्पिदै गएको रहेछ । कुनै बर्षदेखि ऊ आँफैलाई आफ्नो उपहार दिन थालिछन् । भन्थिन्, कसैसँग उपहारको आशा गर्दागर्दै आधाजस्तो उमेर बितेको पत्तै भएन ।

आस्थाको बुबा-आमाले जन्मदिनको शुभकामना दिन थाल्नुभएपछि अलिक रमाईलो लाग्यो रे । अहिले आस्था परिपक्व कुरा गर्छिन र अरु कसैबाट जन्मदिनको उपहार पाउने आशाले जिन्दगीको अर्को बाटोलाई बुझ्न सकियो रे ।
जब उनले आँखा बन्द गर्थिन्, बाहिरवाट आएको आवाजको गुन्जन पनि उनीलाई आफ्नै जस्तै लाग्थ्यो । तर त्यो दिन रुखको माथिवाट आएको आकाशवाणी, आस्थाले बुझ्न नसकेको सत्य थियो ।

आकाशवाणी उनले स्मरण गरिन्-तिमीलाई मैले दिएको जन्म र जीवन नै सबैभन्दा उत्तम उपहार थियो । त्यो तिमीसँगै थियो तर बाहिर अरु कसैवाट पाउने अपेक्षानै तिम्रो अज्ञानता थियो ।

त्यो दिनदेखि अरु कसैवाट आफ्नो जन्मदिनमा कुनै उपहारको चाहना गरेकी छैनन् रे उनले । मात्र सृष्टिकर्तालाई धन्यवाद दिने गरेको उनको कुराले म पनि प्रभावित भएँ । आस्था भन्दै थिइन्-“मैले मेरो जन्मदिनमा पाएको उपहारको अर्थ बुझ्नु नै मेरो जन्मदिनको उपहार थियो ।”
मे २६,२०१९

Add a Comment

Your email address will not be published. Required fields are marked *