अ बाट अक्षर अर्थात् आमा !

डाँक बोकेर हिँड्ने हुलाकी
हुलाकीको बाटो कुरेर बस्ने मेरी आमा
आमाका धूमिल आँखा
हुलाकीको हातको थोत्रो खाम
र,
चिठ्ठी हातमा पर्दा एक्कासी फेरिने
आमाको आँखा र अनुहारको चमक
म सम्झिरहेको छु आज ।

छाम्थिन् फुर्सदमा
के के भेट्थिन् ती अक्षरहरूमा कुन्नि !
छोराको हँसिलो अनुहार
मसिना,सानोमा छातीमा सलबलाउने औँलाहरू
साना खुट्टाहरु
छोराको माया
धकधक धकधक
छोराको सिङ्गै मुटु !
पढ्न जानेको भए के गर्थिन् होला त्यो चिठी आमाले ?

बाले दश पटक
अरूले बीस पटक
आफ्ना आँखाहरूले सय पटक
ओठहरूले हजार पटक
औँलाहरूले अरु हजार पटक पढ्थे त्यही चिठ्ठी
मनले भने सुन्थ्यो लाखौं पटक
छोरा आएजस्तै लाग्थ्यो आमालाई ।

कहिले चोलीमा
रातमा सिरानीमा
र, आए पछि अर्को चिठ्ठी
बाकसमा राख्थिन् एक माथि अर्को गरेर जतनले
जसरी सम्झनाहरू राखेकी छन्
उनको मनभित्र पत्र पत्र पारेर ।

अक्षर चिन्दिनन्
किन चिन्नु पर्यो र ?
अरू कसैलेभन्दा धेरै बुझ्छिन् चिठीको अर्थ उनी
अक्षरको अर्थ अरूभन्दा धेरै थाहा छ उनैलाई
क बाट करुणा
ख बाट खगोल
म बाट माया
अ बाट अक्षर अर्थात् आमा

Add a Comment

Your email address will not be published. Required fields are marked *