स्कटल्याण्ड दरबारमा नेपाली कार्यक्रम
|
पोएट्री ग्रुप एबर्डीन ,नेप्लिज हिमालयन एसोसिएस र बालमोरल दरबार प्रशासनको संयुक्त आयोजनामा यही शनिवारका दिन वेलायती महारानी एलिजाबेथको बालमोरल दरबार परिसरमा नेपाली भाषा लगायतको बहुभाषिक काव्य गोष्ठी तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
स्कटल्याण्डमा रहेका कविद्धय नवीन क्षेत्री र मुकुल दाहालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बालमोरल क्यासलका कर्मचारी ग्लिन जोनस र जोजियाले सबै सहभागीहरूलाई स्थानीय प्रकृतिको मनोरम दृष्यावलोकन गराएका थिए । दृष्यावलोकनपछि दरवार अवलोकन र दरवारमा हुने गतिविधिहरूको जानकारी मुलक वृत्तचित्र पनि देखाइएको थियो ।
महारानी एलीजाबेथले प्रत्येक वर्ष तीन महिना बिताउने सो दरबारको परिसरको खुला आकासमुनी भएको बहुभाषिक काब्य गोष्ठीमा दरबारका कर्मचारी ग्लिन जोनसले स्कटल्यान्डको स्थानीय गेलिक भाषा,अतिथि पण्डित मधुसुदन भट्टराईले संस्कृत भाषा, नवीन क्षेत्रीले अंग्रेजी तथा मुकुल दाहाल र राज क्षेत्रीले नेपालीमा कविता बाचन गरेका थिए ।
स्थानीय कलाकारहरू टक थापा,नारायणचन्द्र श्रेष्ठ,रेनुका ढकाल,लब सिम्खडा, उद्धव भट्टराई,पुष्कर गौतम,बलराम ढकाल,प्रतिज्ञा राना,चन्द्रा श्रेष्ठ र अनिता भण्डारीले कार्यक्रममा साङ्गितिक प्रस्तुति गरेका थिए । एबर्डीन शहरदेखि कार्यक्रम सम्पन्न भएको दरवार ५० माइलको दुरीमा रहेकोछ ।
