एक दीर्घरोगीको मनोवाद
|मेरो शरीरको राजा मै हुँ लाग्थ्यो
मेरो शरीरको माली मै हुँ लाग्थ्यो
हैन रहेछ ।
अहिले त
मेरो शरीरको सिंहासनमा
यो रोग बसेको छ
र उसका चम्किला बुटहरू
बजारिरहेछ ।
मेरी आमाले त एउटा
दुरूस्त शरीर दिनुभएको हो
यही शरीरमा तेल दली दली
आफ्नो उमेर घटाउनु भएको हो
आफ्ना सबै निद्राहरू
मैलाई दिएर
आफू जागै बस्नुभएको हो ।
म आफैँले पो स्याहार्न
सकिन कि आफूलाई ?
जसरी गोड्नु पर्थ्यो शरीरको विरूवा
शायद मैले त्यसरी गोड्न सकिन कि ?
जसरी सुरक्षा गर्नु पर्थ्यो
शरीरका सीमानाहरूको
त्यसरी गर्न सकिन कि ?
त्यसैले होला
सुटुक्कै पसेछ यो सैतान !
यसले त मेरो शरीरको गोदाममा
जो अमुल्य खजानाहरू थिए
जम्मै लुटिसक्यो ।
म सम्झन्छु
बैँसको बतास चलेको बेला
मेरो अनुहारमा सप्तरङ्गी इन्द्रेणी हाँस्थ्यो
आँखाहरू भरी ढकमक्क सपनाहरू फुल्थे ।
अहिले त शरीरको सतह
बाकसबाट भर्खर झिकेको
दौराजस्तो खुम्चिएको छ
गोडाहरू खोरेत लागेको
बुढो गोरुकाजस्तो लाग्छन ।
तन्दुरुस्त भनेको यही रोग छ
जो जति खाए पनि अघाउँदैन ।
आफ्नो गाँस कटाएर
उसैलाई ख्वाइरहेछु
मैले उसलाई ख्वाएका
सबै गोलीहरू भेला गर्दा
एउटा घरको सिङ्गै छानो
छाउन पुग्छ ।
के गर्ने
यात्राको यस्तो मोडमा
आइसकेपछि
उसलाई ख्वाउनु भनेकै
मैले खानु पनि हो रहेछ
र, मेरो जीवनको बत्ती बलिरहनु रहेछ ।
यही कारण
म उसलाई ख्वाइरहन्छु
तीठा मीठा औषधीका भोजन ।
मेरो गाडीबाट ओर्लिएर
म उस्को गाडीमा चढेर कुदिरहेछु ।
उसँग म छु र मेरो साथमा ऊ छ !
उसकै गाडीको झ्यालबाट देख्छु
रुखमुनी सितल तापिरहेका मानिसहरू ।
हाट भरेर फर्किँदै गरेका महिलाहरू
डमरू बजाउँदै बाँदर नचाइरहेको मानिस
उसकै गाडीको झ्यालबाट
देखिरहेछु मन्दिरको गजुर
फूल बेचिरहेको मानिस
र धर्तीका अनेक रङ्हरू ।
यो रोग सैतान लाग्थ्यो
तर अब साथी भयो ।
किनकि उसकै साथमा रहेर
म प्रेमगीत लेखिरहेछु ।