महाशिवरात्री,नाङ्गा जोगी र अश्लिलता

फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार

पशुपति मन्दिर परिसर यतीखेर महाशिवरात्रिको माहौलले तातेको छ । शिवरात्रिका अन्य धेरै धार्मिक साँस्कृतिक पक्षहरूभन्दा दृश्यमा देखिने ३ वटा कुरा मुख्य छन् – १) जोगी/सन्यासीहरुको तमासा २) अवैध मानिएको गाँजाको प्रयोग ३) लाखौँ भक्तजनहरुको भिड । सम्भवत मानिसहरुको यती ठूलो भिड अन्य कुनै सन्दर्भमा कुनै पनि शहरहरुमा हुँदैन होला ।

अहिले केही साल यता आएर यहाँ जम्मा हुने जोगीहरुको नग्नता र अश्लिलताको प्रश्न पनि उठ्ने गरेको छ । यस सन्दर्भमा मैले मेरा हजुरबुबाबाट सुनेको आँखाको हेराइ र मनको हेराइको एउटा कथा यस्तो पनि छ –

कुनै जमानामा बुद्धभन्दा पहिले नै पनि हुनसक्छ, दुई तपस्वी युवा कुनै कठिन साधना वा सत् व्रतमा थिए । उनीहरूले सत् व्रतको अबस्थामा कुनै पनि महिलाको आकर्षणमा पनि पर्न नहुने र महिलालाई कुनैपनि शर्तमा छुनै नहुने कबोल थियो ।

एक सँझ नदी किनारमा ती दुवै साधकको बास पर्यो । एक सुन्दर युवती साधकहरूको नजिक आएर बिलौना गर्न थालिन । दिउँसो म र मेरी मातासँग घाँस दाउरा लिन यो नदी तरेर आएकी थिएँ । घाँस दाउरा जोहो गर्ने अलमलमा हामी अलमलिएर यता उता भयौं । मलाई नदेखेपछि आमा एक्लै मलाई छाडेर केही पहिले नै नदी पार जानु भयो तर एकै छिनमा नदीमा बाड़ी आयो । अहिले यो बाडी छिचोलेर म नदि पार गर्न पनि सक्दिन तर म पारी जानैपर्छ । म यहाँ एक्लै बस्न सक्दिन । यहाँ जङ्गली जनावरहरुको मात्र होइन चोर डाकाहरुको पनि खतरा हुन्छ ।

युवा तपस्वीहरूले एकैछिन परस्परमा हेराहेर गरे । एउटाले मुख खोले । भन्दैथिए – हे युवती ! हामी साधकहरूको सत् व्रत बिथोल्ने तिम्रो षडयन्त्र पनि हुनसक्छ । तिमी साँच्चिकै अफ्ठेरोमा परेकी हौ भनेर कसरी विश्वास गर्ने ?

उनका सबै कुरा सुन्नु त के कुरा उनका कुरा शुरु नहुँदै अर्का तपस्वी युवाले ती युवतीलाई काँधमा राखेर नदी पारी पुर्याएर फर्के ।

आफ्नो सत् व्रतको कथा सुनाउन थालेका तपस्वी युवाले युवतीलाई काँधमा राखेर नदी पारी पुर्याएर फर्कने तपस्वी युवालाई भने- मित्र तिमीले आफ्नो सत् व्रत साधनाको कबोल तोड्यौ । अब तिमी साधनाका लागि योग्य तपस्वी रहेनौ ।

किन र ?
तिमीले महिलाको आकर्षणमा पर्न र छुन पनि नहुने कबोल तोड्यौ ।
कसरी ?
तिमीले भर्खरै एक सुन्दर युवतीलाई काँधमा बोकेर नदी पार गरायौ ।

अर्का युवा तपस्वीले भने- मैले त कुनै सुन्दर युवती नै देखिन । मैले आफ्नी आमाबाट हराएकी कुनै अबोध नाबालकलाई आमाको जिम्मा लगाइदिएर फर्केको
हुँ । तिमीले आफ्नो कबोल विपरीत किन कुनै सुन्दर युवतीलाई नियालेर हेर्यौ ?! यसरी युवतीलाई नियालेर हेर्नु तिम्रो सत् व्रत र साधनाको नियम विपरितको कार्य तिमीले पो गरेछौ !

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *