तिम्रो नैतिकता


नैतिकताको बोझ धान्न्नै नसकेपछि हजुर आँफैलाई चिन्न गाह्रो पर्दोरहेछ,
लगातार चरित्र र इज्जतको तराजुमा जोखिंदा-जोखिंदा
आफ्नै अनुहार पनि अर्कै-अर्कै लाग्दोरहेछ
सँधै श्लील र अश्लिलताको चाल्नामा घान पर्दा-पर्दा त
हजुर ! आँफैलाई बिर्सिंइदोरहेछ
मान्छे हुँ भन्ने चेत पनि बिलाउँदो रहेछ ।

त्यसैले हजुर,
आज चेत खुलाउन,
आँफैलाई चिन्न
हजुरहरुले तोकिदिएको नैतिकताको सिमा तोडिदिएर
श्लीलताको पर्खाल नाघेर
मैले पनि
पुरा-पुरा सोमरस पान गरेकी छु,
तपाईंको श्लीलता तपाईंलाई साधुबाद
तपाईंको नैतिकता तपाईंलाई बधाई ।

यो सोमरसले त कस्तो ऐठन खुलाइदियो बाबै !
सबै छर्लङ्ग बताइदियो
कि
अब म पनि बोल्न सक्छु
तिम्रो ठेकेदारीको यो समाजमा,
दैनन्दिन तिम्रो रवाफ जमाउने चोकमा
तिमीतर्फ नै औंला ठ्ड्याएर
नाकैसम्म पुर्याएर
म पनि दिन सक्छु पुराण र नैतिकताको प्रबचन
तिम्रो लागि ।

हो,
तोकिदिन्छु म आज तिमीलाई पनि सीमारेखा
र तोकिदिन्छु सारा सारा नियमहरु
कति इन्च हाँस्ने ?
कति इन्च लाउने ?
कहाँ जाने ?
कता जाने ?
कोसङ्ग बोल्ने ?
अनि कोसङ्ग हिड्ने ?

वाह ! मान्छेहरु त भन्थे
यो सोमरसले होस उडाउँछ
तर उत्पातै मलाई त
चेत पो खुलाउँदै छ
चेत खुस्केको तिम्रो समाजप्रति
म आज आदेश दिन्छु,
यो संसार तिम्रो मात्र हैन
तिम्रो थोत्रो रटानले मात्र अब चल्दैन
तिम्रो नैतिकताको प्रबचन
तिम्रै सुरुवालको इजारभित्र राख ।
तिम्रो निगाह
तिम्रो दया माया तिम्रै खल्तिमा साँच ।

जागेको चेत अब फेरि मर्ने छैन
तिम्रो आदेश र उपदेश आँफैलाई साँच ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *