मन्त्रमुग्ध


बिहानै उदाएर घामले
पुग्न खोजेको ठाउँ तिमी नै हो
सुन्दरताको वर्णन गर्दा
कविले लेखेको सौन्दर्य बिम्ब तिमी नै हो ।

मलाई कहिलेकाहीं यस्तो लाग्छ
दा–भिन्चीका अगाडि
मोनालिसासँगै तिम्रो आकृति भएको भए
आज संसारमा तिमी हुन्थ्यौ मोनालिसा ?

हेर्दा अलि अलि
श्याम वर्णकी छ्यौ त के भयो ?
अँध्यारोमा टल्कने हीरा
कोइलाबाट निस्कँदैन र ?
भरभराउँदो आगाको राप
कालो अँगारभित्रबाट निस्कँदैन र ?

थाहा छ तिमीलाई ?
सिङ्गो आकाश घोप्टिएर
यत्रो समुद्र निलो बनिसक्दा
एक छेउ भर्न सकेन
तिम्रो सौन्दर्यको सागरमा ।

जस्तो कि कसैले
“तिमी फूल जस्तै सुन्दर छ्यौ”
भन्छन् आफ्नी मायालूलाई
तिमीलाई हेरेरै हो ।
“नदी हो” भन्छन् कसैले जीवनलाई
तिमीलाई हेरेरै हो ।

म मनको वेगले
ब्रह्माण्डको छेउ पुग्न खोज्दा
जब शुन्यतामा तिमीलाई देख्छु
मेरो यात्राको आयु त्यहीँ समाप्त हुन्छ ।

एउटा विश्वास जाग्छ ममा
तिमीलाई सम्झेपछि
यदि कुनै दिन घाम उदाएन भने
तिमी त पक्कै उदाउँछ्यौ ।
यदि कुनै रात जून उदाएन भने
तिमी त पक्कै उदाउँछ्यौ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *