योगमायाको काँचो वायु


त्रिपुण्डक धारिणी साध्वी
म योगिनीको काँचो वायु
झाँक्रोको चम्मर हल्लाउँदै
बल्ल उत्रिएको छ आङमा
१९९८ असार २२ गतेदेखि भड्किएको आत्मा।

खबरदार !
अग्निको लप्का भएर मेरो कपाल सिरु उम्रिएको छ
जलसमाधिमा अरूण भएका पुण्यात्माहरु साक्षी राखेर
धामीले ढ्याङ्ग्रो ठटाए झै ढ्याङ्…ढ्याङ्…ढ्याङ्…ढ्याङ्…
मेरो नलीहाडको गजोले इतिहासको पिठ्यूँ पिट्दै
दूधको दूध पानीको पानी कैरन बक्छु अब ।

मेरा औंठाबाट जन्मिएका कविता गुन्गुनाउँदै
मेरा रक्तनलीलाई मुहान बनाएर बग्ने यो अरूण
साक्षी छ आज पनि
श्री ३ ले गायब बनाएको हाम्रो हृदयझाङ्कारको
श्री ५ ले उठाउन नसकेको हाम्रो आवाजको ।
अब को छ ?
अरूणमा जलसमाधिलीन साधकको मुचुल्का उठाउने ?

ख्याल गर्नू, ती हिजो र आजका
श्री ३ र श्री ५ हरुसँग थाप्ने छैन हत्केला
बरु च्यातिदिन्छु मलाई थिच्ने यो आकाशको टाङ
मेरो मस्तिष्क गिजोल्नेको भाँचिदिन्छु औंला
बन्द गरिदिन्छु होहल्ला र कोलाहल बोक्ने
यो उच्छृङ्खल बतासको बाटो
अरूण थुनेर फर्काइदिन्छु उभैंतिर
र, डुबाइदिन्छु यो सभ्यता ।

यतिका वर्षपछि छटपटाउँदैछ, मेरो रज गाडिएको चिहान
पट्पट् पड्किन थालेका छन्, पुराणले भुटेका हाम्रा गिदी
मेरो अस्तु घोटेर दहीसँग पिउने
यो लाज पचेको इतिहासको गरिदिन्छु हत्या
मेरो नाकले सास फेरेर बाँचेको यो युगको, थुनिदिन्छु सास
मेरो शरीर चोरेर बेसरम उभिने
मेरो केशको धारले छिनाइदिन्छु, यो कुसमयलाई ।

हेक्का होस् महाराजहरुलाई !
जलसमाधिबाटै ढल्न सक्छ समयको हुङ्कार
अग्निसमाधिले नै डढ्न सक्छ बेइमान इतिहासको प्वाँख
पूरै बाँकी छ
मसँगै जलसमाधिलीन ६८ नर–नारीको हंसले
मेरो अस्तुसँग मागेको हिसाब–किताब लिन
हामीले अग्निसमाधिलाई ठीक पारेको कुण्डको आगो कहाँ छ ?
हामीले जलसमाधि लिएको पानी कसले लगेको छ ?
खै कहाँ छन् मेरा हात–खुट्टामा ठोकिएका नेल ?
म र मेरा अनुयायीलाई छेक्ने यी जेलका भित्ता के गर्छन् अचेल ?

हाम्रा अस्तुमाथि पलेंटी कसेर
डमरु बजाउँदै ताण्डवरत प्रेतात्माहरु सावधान !
अरूण किनारमा सत्याग्नी झोसेर ब्यूँझिएका छन् योजनहरु
मेरै अस्तुमा लेखिएको यो प्रेतसमयको मोचन गर्न
जलसमाधिलीन यो अरूणको यक्षकुण्डबाट
ठाउँठाउँमा धुनी जगाउँदै
आफ्नै अस्तुको न्यायिक हिसाब माग्न
जलाभिषेक गरी, मेरै करङको डुङ्गामा चढेर
शताब्दीयौंपछि
भक्तहरुसहित आउँदैछु
म, योगमाया ।

नोट: कवयित्री सीमा आभासको ‘ म स्त्री अर्थात आइमाई’ चर्चित कविता सङ्ग्रहबाट योगमाया स्मृति दीवसका सन्दर्भमा साभार ।
बिसं १९९० को दशकमा भोजपुर जिल्लाको नेपाले डाँडा मजुवा बेंसीमा विदुषी तथा विद्रोही महिला योगमाया नेउपानेको नेतृत्वमा तत्कालिन सरकारसँग ‘सत्य धर्म भिक्षा’ का नाममा समाज सुधारका विभिन्न माग राखेर एक सामाजिक विद्रोह भएको थियो । उनीहरूले माग पुरा नभए २ सय ६५ जनाले बिसं १९९५ मा नै अग्नी दाह गर्ने चेतवनी पनि दिएका थिए । सरकारले माग पुरा गर्ने कबोल गरेर पनि पुरा नगरेकोले अन्ततः येगमायासहित ६८ जनाले सरकारलाई चेताउन भन्दै बिसं १९९८ साल हरिशयनी एकादशीका दिन अरुण नदीमा हाम फालेर जलसमाधी लिएका थिए ।

One Comment

Leave a Reply to Dr. G Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *