सरकार ! काठमाडौंको अक्सिजन सप्लाई बन्द नगरौँ
|शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलले काठमाण्डौ उपत्यकामा प्राण वायु अक्सिजन आपूर्ति गरिरहेको छ । यस उपत्यका भित्रमात्र ४० लाखभन्दा धेरै मानिसहरुको नियमित बसोबास रहेको अनुमान गरिन्छ । अस्थायी बसोबास अर्थात यहाँभित्र आवत जावत गर्नेहरुको सङ्ख्या पनि ठूलो छ । अहिले सरकारले यो लगायतका अने कतिपय संरक्षित वन जङ्गलहरू भित्र आधुनिक भौतिक संरचनाहरु जस्तै केवलकार,होटल आदि निर्माण गर्नेजस्ता व्यवस्था गर्न लागेको विषय सार्वजनिक भएको छ । यसरी हुने वन जङ्गलको संभावित फँडानी,त्यहाँको सिमसारबाट प्राप्त पानीमाथि व्यापारिक एकाधिपत्यले मानिसको स्वास्थ्य,बातावरण तथा प्राकृतिक सुन्दरतामाथि निम्याउने खतराहरुको हामीले समयमै मुल्याङ्कन गरेनौं र यसलाई नियन्त्रण गर्न सकेनौं भने शताब्दियौं पुरानो शहर( काठमाण्डू उपत्यका)को साभ्यता,सुन्दरता र मानव स्वास्थ्यले ठूलो मूल्य चुकाउनु पर्ने सम्भावित खतराका बारेमा यहाँ चर्चा गर्न प्रयास गरिएको छ ।
शिवपुरीको जङ्गलमा हुने अतिक्रमण अर्थात वन विनास र आधुनिक संरचना निर्माणले बागमती र विष्णुमतीजस्ता पवित्र नदीहरुको बहावमा प्रतिकुल प्रभाव पर्नेछ । यसले राजधानी काठमाण्डूको प्राणी जीवन मात्र नभएर यहाँको नदीहरू र संस्कृति माथि आक्रमणका साथै व्यापारिक सत्ताले प्राकृतिक जीवनमा पनि तवाह ल्याउने छ ।
काठमाण्डूको भूमिगत पानी शिवपुरी जलाधारबाट बगेर आउने पानीले निसृत गरिरहेको छ । यहाँको आधा जनसंख्याले अहिले पनि शिवपुरी र आसपासबाट आउने पानी नै खाइरहेको छ । कृषिका लागि त्यही पानी प्रयोग भइरहेको छ । शिवपुरीको जङ्गलले काठमाण्डौ उपत्यकामा उत्सर्जन हुने प्राणी स्वास्थ्यमा हानीकारक कार्वनडाइअक्साइड ग्याँसलाई रुखको प्राकृतिक नियम अनुसार फोटो सिन्थेसिस प्रक्रिया पुरा गरी अक्सिजनमा रुपान्तरण गरिरहेको छ । जसले गर्दा काठमाण्डौमा अक्सिजनको सहज आपूर्ति सम्भव छ ।
प्रकृती विज्ञानका वैज्ञानिकहरूले शिवपुरीको प्राकृतिक महत्वलाई काठमाण्डूबासीको जीवनदायीनी मानेका छन् । अब नेपाल सरकारले सो संरक्षित क्षेत्र तवाह हुने गरी आधुनिक संरचना निर्माण गरेर व्यापार चलाउन दिनु कति उपयुक्त हुन्छ ? नेपाल सरकारले आधिकारिकरुपमा तयार पारेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको उद्देश्य र रणनीतिमा व्यापार गर्ने,रिसोर्ट खोल्ने,केवलकार चलाउने भनेर नै त लेखिएको छैन । तर जुन अन्तर्यका साथ सरकारले नयाँ वन उपभोग निती आदिको प्रस्तावनाहरू सार्वजनिक बहसमा ल्याएको छ त्यसले भने प्रकृती संरक्षणप्रति उदासिन हुँदै गएको देखाउँछ । यिनै बहसमा आएका नितीहरु नै लागु गरिने हो भने शिवपुरी मात्र होइन नेपालका अन्य धेरै संरक्षित वन तथा प्रकृतीक सम्पदाहरू माथिको दोहनले बैधानिकता पाउनेछ । तर मात्र ६० महिनाका लागि छानिएको सरकारलाई प्राणी जगतको निरन्तरता नास गर्ने अधिकार छ ? आउने अनुच्छेदहरुमा विकास,वातावरण,पानी वनस्पति र त्यसको प्राणी जगतसङ्गको सम्बन्धमा सचेत चर्चा गर्ने प्रयास गरिएको छ ।
काठमाण्डू उपत्यकामा अत्यधिक मात्रामा भुमीगत पानी दोहन हुने गरेको छ । भुमीगत पानी दोहनबाट उपत्यकाको पानीको सतह तल जाँदै छ । शिवपुरी राष्ट्रिय निकुञ्ज र शिवपुरी सिमसारबाट निस्रित हुने पानीले काठमाण्डू उपत्यकाको जमीन मुनिको पानीलाई रिचार्ज (पुन:भरण)को काम गर्दछ । यदि शिवपुरीबाट आउने पानी बन्द हुने हो भने काठमाण्डू उपत्यकामा भुमीगत पानी दोहन गर्न सकिने अवस्था नहुने वैज्ञानिक निश्कर्ष छ । उपत्यकामा थामि नसक्नु जनसंख्या वृद्धि भइरहेछ । बढिरहेको जनसंख्याले पीउने पानी,घरायसी प्रयोजनका लागि चाहिने पानी,तरकारी तथा अन्न उत्पादनका लागि पानीको स्रोत भूमीगत पानी नै रहेको छ । बिष्णुमती, बागमती र अन्य साना-साना खोलाहरुले पनि सिंचाईंका लागि पानी प्रदान गरेका छन् । यी साना खोलालगायत वागमती विष्णुमतीजस्ता पवित्र मानिएका नदीहरुको पानीको भुमीगत रिचार्ज स्रोत शिवपुरी जलाधार क्षेत्र नै हो ।
शिवपुरी जङ्गल र जलाधारले उपत्यकामा हुने हावाको प्रदुषण घटाइरहेको छ । यहाँ सवारी साधनहरुको चाप ज्यादा छ । पुराना गाडी,उचित मर्मत संभारको अभाव,कच्चि सडक,पेट्रोलियम पदार्थको कमजोर गुणस्तर आदिले गर्दा धुवाँको मात्रा ज्यादा छ । यो धुवाँले कार्वनडाइ अक्साइड ग्याँस उत्सर्जन गरिरहेको छ । यो ग्याँस मानिस लगायत अन्य प्राणीको स्वास्थ्यका लागि हानीकारक छ ।
जङ्गलमा भएका रुख विरुवाहरुले कार्वनडाइअक्साइड लिन्छन र फोटो सिन्थेसिस प्रक्रिया पुरा गरेर सो कार्वनडाइ अक्साइडलाई अक्सिजनमा रुपान्तरण गर्दछन् । यो काम शिवपुरी नागार्जुन निकुञ्जको जङ्गलले गरिरहेको छ । त्यसै पनि उपत्यकामा अक्सिजनको मात्रा कम भएको मानिन्छ । जति अक्सिजन प्राप्त छ त्यसको ठूलो हिस्सा शिवपुरी नागार्जुनमा रहेको जङ्गलले नै पूरा गरिरहेको छ । यसले पुष्टि गर्दछ शिवपुरीको प्राकृतिक महत्व कति छ ।
शिवपुरी मध्य पहाडी जैविक विविधताको भण्डार हो । यहाँ ३१८ प्रजातिका चराहरुको वासस्थान,१२५० किसिमका फूल,१२३ प्रजातिका अर्किड फुलहरु,१०२ किसिमका पुतली,३० किसिमका स्तनधारीहरुको वासस्थान रहेको छ । संसारका प्रकृतीवीदहरुले यसलाई जैविक विविधता र प्रकृति संरक्षणको महत्वपूर्ण उपलब्धि मानेका छन ।
यो राष्ट्रिय निकुञ्ज स्थापना र त्यस यताका सरकारहरुले यसको अहम् महत्वलाई ध्यान दिएर यसबाट प्राप्त गरिने उपलब्धिहरुको निर्क्यौल गरेका छन् । ती उद्देश्यहरु,खतरामा परेका वनस्पति,जनावर र चराहरुको संरक्षण,मध्यपहाडको जैविक जीवनचक्र कायम राख्नु हो । बागमती र विष्णुमतीको पानी वहाव कायम राख्नु, काठमाण्डूमा सिँचाइ पुर्याउनु,बागद्वार,वज्रजोगीनी,विष्णुद्वार,मनीचुड,नागी गुम्बा र सुन्दरीजल जस्ता क्षेत्रमा पदयात्रा कायम राख्नु रहेका छन् । शिवपुरी नागार्जुन संरक्षणका लागि सरकारले अघि सारेका रणनीतिहरुमा आधुनिक विकास,डोजर सन्चालन,केवलकारजस्ता प्रकृति प्रतिकुल रणनीतिहरु अघि सारिएको छैन । संसारमा प्रकृति संरक्षणका लागि गरिएका प्रयासहरुले संरक्षित क्षेत्र भित्र आधुनिक विकासलाई स्वीकृत गरेको पाइँदैन ।
प्रश्न उठ्न सक्छ के शिवपुरीमा बनाइने विकास संरचना पर्यावरण दोषी हुन्छन ?
हो । पर्यावरणलाई ठूलै हानी पुर्याउने छ ठूला संरचनाहरुले । शिवपुरीमा मात्र होइन अन्य संरक्षित क्षेत्रमा पनि उही समस्या उत्पन्न हुनेछ । जसरी धरहरा वरीपरिका संरचनाका कारण ऐतिहासिक सुनधाराको पानी सुक्न पुग्यो, काठमाण्डूमा भएका सयौँ ढुङ्गे धाराहरु लोप भए । उपत्यकाका सयौँ पोखरीहरुको पुरातत्ववीदहरु आज खोजि गरिरहेका छन । त्यसरी नै शिवपुरी जलाधार क्षेत्र पनि सुख्खा र बंजर भुमीमा बदलिन जान्छ । किनभने ठूला भौतिक संरचना भवनहरुको गहिरो जग खन्नु पर्ने हुन्छ । सो जग खन्दा जमीनमुनिको पानीको स्रोतलाई असर पर्छ । जमीन मुनि प्राकृतीकरुपमा पानी बग्ने बाटा बनेका हुन्छन् ती घरका जग र सडक खन्दा पानी बग्ने प्राकृतिक बाटाहरु छेकिन्छन् अर्थात पानीको प्राकृतिक नियम प्रतिकुल हुन जान्छन त्यस्ता संरचनाहरु । त्यसकारण पानी सुक्दै जान्छ । यो प्राकृतिक कारण भयो ।
अर्को मानवीय कारण पनि छ- त्यहाँ भवन बनाउन,बाटो बनाउन चाहिने पानी त्यहिँ प्रयोग गरिन्छ । होटलहरु खुलिसकेपछि होटलहरुले शिवपुरी जलाधार क्षेत्रको पानी त्यहीँ दोहन गर्नेछन् । कसरी फेवातालको पानी लेकसाइडका होटलहरुले तानेका छन,शिवपुरीमा पनि त्यहि नियति दोहोरीने छ । सयौँ होटलहरुले त्यहींको पानी तान्न थाले पछि शिवपुरी जलाधार क्षेत्रको पानी बाग्मति,विष्णुमति वा अन्य साना ठूला खोलाहरुमा आउने सम्भावना सकिन्छ ।
मानिसको भीडका कारण त्यहाँको वनस्पतिहरु मासिँदै जानेछन । पर्यटकीय संरचना बनाउनका लागि सरकारले केही लाख रुख काट्ने अनुमति दिने छ, व्यवसायीहरुले लाखौँ रुख समाप्त पार्नेछन् । सरकारले दिएको जमीनका वरीपरि अरु सयौँ रोपनी जमीन अनाधिकृत प्रयोग हुने छ । आजसम्म देखिएको यही हो । सरकारलाई गम्भीर आग्रह छ शिवपुरीलाई नचलाउँ, सकिन्छ राष्ट्रिय निकुन्जहरूलाई अझ विकास र बिस्तार गरौँ यदि बिस्तार गर्न सकिंदैन भने पनि भएकाको अतिक्रमण रोकौं । मानवीय हस्तक्षेपबाट प्रकृति र संरक्षित क्षेत्रहरूलाई मुक्त राखौँ । प्रधानमन्त्रीज्यूमा हार्दिका आग्रह छ, काठमाण्डौ वरीपरिका डाँडाहरुलाई राष्ट्रिय निकुञ्ज घोषणा गरियोस, संरक्षण क्षेत्र विस्तार गरियोस् । तपाईंले भन्ने गर्नु भएको सुखी नेपाली-सम्बृध्द नेपाल तब सुरु हुन्छ । मरुभुमीकरणको बाटो हिँडेर सुख र सम्बृध्दीको सपना देख्न सकिदैन ।
नेपालका हालका प्रधानमन्त्री खड्गप्रसाद ओली अर्थात के पी ओलीले सुन्दर युवा वयका १४ बर्ष लामो कहाली लाग्दो जेल जीवन बिताउनु भएको छ । तर जेलमा रहँदा नै सही उहाँले हिन्दु धर्म दर्शन,महाभारत,वेद विद्या,उपनिषद,गीताजस्ता प्रख्यात दर्शनशास्त्रहरुको विशद अध्ययन गर्नु भएको र तीमध्ये कतिपय अहिले पनि उहाँलाई कण्ठस्थ भएको झापातिरका नेकपा कार्यकर्ताहरु स-गौरव सुनाउँछन पनि । उहाँको अभिव्यक्तिमा पनि यी लक्षणहरु झल्कन्छन् । यसलाई परिचित पूर्वीय दर्शनका ज्ञाता भनि कहलाइएका प्रम ओलिज्यूका प्रतिद्वन्दी नेता प्रदीप गीरीज्यूले पनि विद्वान प्रधानमन्त्री ओलीज्यू भनेर गर्नु हुने सम्बोधनले पनि पुष्टी गर्दछ । यदि यो सत्य हो भने वैदिक कालको पर्यावरणीय चेतनाको पनि उहाँमा जानकारी अवश्य छ । आधुनिक राजनीति र विकास त उहाँको जीवन अभिष्ठ नै हो भन्ने उहाँका अभिव्यक्तीहरुले पनि बताइरहेका छन् । सर्वव्यापक वैदीक वातावरण रणनीतिको यो छोटो जानकारीले हाम्रा आदरणीय तथा सम्माननीय प्रधानमन्त्रीज्यूको सो विषयको ज्ञानलाई पुन:स्मरण गराउन सक्ने विश्वास छ ।
हे सबका कल्याण गर्नेवाला पृथ्वी ! तपाईं हाम्रो मातापिता हुनुहुन्छ । सर्वज्ञ, तेजश्वी,ज्ञानी,एवं सत्कर्म गर्नेवाला हुनुहुन्छ । हामीलाई छोरा नाती,अन्न,बल,यश,अथवा धन प्रदान गर्नुहोस (ऋग्वेद ५०९६) । पृथ्वीले पानी,रुख,सबै किसिमका प्राणी, पशु पंछी जगत, विरुवाहरु सबैलाई बासस्थान दिएको छ ।
ऋग्वेदको यस श्लोकले प्राणी जगतमा मानिस नै सर्वश्रेष्ठ हो भन्ने मान्छेको अभिमानलाई नकार्दछ । मानिस र प्रकृतिबिचको आजको वैमनस्यताको मूल कारण मानिसहरुको जीवन पद्दति,चरित्र र अधिक संग्रह गर्ने लोभ नै हो । यो लोभले सबैभन्दा पहिले समस्त प्राणी जगतको जीवन अस्तित्व जोगाइरहेको प्राकृतिक जङ्गलमाथि निर्दयी आक्रमणलाई तीव्र पारेको छ । जङ्गलले पानीको चक्रलाई निरन्तरता प्रदान गर्दछ र पर्यावरणमा आद्रता घटाउँछ । जङ्गल लाखौँ लाख प्राणी र वनस्पतिको वासस्थान पनि हो ।
प्राकृतिक जीवनचक्र (natural ecosystem) माथि मानिसको हस्तक्षेपका कारण तत्कालका लागि मानिसलाई धेरै खाले आर्थिक लाभ हासिल हुन गएको छ । दु:खको कुरा,प्रकृतिको सर्वश्रेष्ठ र सर्वज्ञानी प्राणी दावी गर्ने मानिस स्वयम् भने अल्पकालका लागि प्रकृतीको दोहन गरिरहेको छ र दीर्घकालका लागि आफ्नो विनास निम्त्याइरहेको छ । ऋग्वेदले छोरा नातीहरुसमेतका लागि बल,अन्न र पृथ्वीबाट प्राप्त हुने बोधगम्य अनुभव सार्वजनिक गरेको ५ हजार बर्ष भइसकेको छ । यसले प्रकृतीका सबै जीव,वनस्पति तथा बस्तुको महत्वलाई नकार्दैन बरु सम्मान गर्दछ । जुन दिनदेखि मानिसले प्रकृतिमा आफूमा सर्वश्रेष्ठको पगरी आँफैले भिरायो,त्यसै दिनदेखि प्रकृतीमाथिको दोहनलाई पनि बढावा दिँदै आइरहेको छ । जो अल्पकालका लागि सोच्छ, ऊ सर्वज्ञानी हो वा महामुर्ख ?
पूर्वीय दार्शनीकहरुले वनस्पतिको जीवन दर्शनलाई अहम् महत्व दिएका छन् । पीपल, तुलसी, सिसौजस्ता रुखहरु बारेमा ऋग्वेद, अथर्ववेद र मैत्रियानी संहितामा वारम्वार उल्लेख गरिएको पाइन्छ । ऋषि चरक र सुस्रुतले औषधीय गुण भएका वनस्पतिहरुको व्यापक अनुसन्धान गरेका थिए। समग्र पर्यावरणका सन्दर्भमा वैदिक युगमा एक वृहत दृष्टिकोण थियो । जस अनुसार ब्रम्हाण्डमा रहेका भिन्न ग्रहहरुमा प्राप्त यावत जीवनहरु (जीवित तथा निर्जिव प्राणी वा वस्तुहरु)लाई मानवीय अधिकार र क्षेत्राधिकार मानिंदैन थियो । वृक्ष आयुर्वेदका अनुसार एक रुख रोप्नुलाई दश सन्तान जन्माउनु र हुर्काउनु बराबर पुण्य मानिन्थ्यो/मानिन्छ (www.
वैदिक दर्शन शास्त्रले,आकाश,हावा,आगो,पानी र पृथ्वीलाई पञ्चमहाभुत अर्थात पञ्चतत्व जसले प्राणी जीवन बन्दछ भन्दछ । यी सबै तत्वहरु अन्तरसम्बन्धित र अन्तरनिर्भर छन् । वातावरण र जैविक विविधतालाई दिइएको महत्व हेर्ने हो भने वातावरण संरक्षणलाई धर्म अवलम्वन र धार्मिक अनुष्ठान सम्पन्न गरेको सरह मानिन्थ्यो । अहिंसाको पूर्वीय दर्शनले वातावरण संरक्षणको सिद्दान्त तय गरेको थियो । बनस्पति वा जीव नास गर्नुलाई पनि पाप मानिन्थ्यो । तव न यस क्षेत्रको जैविक विविधता आजसम्म निरन्तर रहन सकेको छ । वेद र वैदीक शास्त्रको विशद अध्ययन गर्नु भएको हाम्रा प्रधानमन्त्रीज्यूमा यी कुराको अवश्य यथेष्ट ज्ञान छ । पूर्वीय दर्शनमा मात्र नभएर पश्चिमा दर्शन र साहित्यमा पनि पर्यावरणको ठूलो महत्व दर्शाइएको छ ।
काठमाण्डू उपत्यका वा यो शहर डरलाग्दो वातावरणीय चुनौतिको सामना गरिरहेको छ । काठमाण्डूको हावामा भएको प्रदुषणका कारण यसले स्वास-प्रस्वास सम्बन्धी बिरामीको संख्यामा वृद्धि हुँदै गएको छ । हावामा कार्वनडाइअक्साइडको मात्रा बढी हुनुमा गाडीहरुले फाल्ने धुवाँ एउटा कारण हो । शिवपुरी संरक्षण क्षेत्रको जङ्गलले उपत्यकाको वायुमा रहेको कार्वनडाइअक्साइड लिएर हावामा अक्सीजन छाडिरहेको कुरा कमलजजङ्ग कुँवरले वैज्ञानिक अध्ययनबाट पुष्टि गरेका छन् ।
होे प्रधानमन्त्रीज्यू ! अप्रेसन गर्ने विरामीका अगाडि नोटका बिटा राखिँदेन भन्ने ज्ञान तपाईं विद्वान प्रधानमन्त्री केपी ओलीज्यूको नेतृत्वमा रहेका सरकारका प्रतिनिधीज्यूहरूलाई पनि अवश्य नै हुनुपर्छ । यदी जानकारी छ छैन भने प्रमज्यू उहाँहरूलाई कुनै एक अस्पतालमा गएर हेर्न पठाइदिनु होला है ।
अमेरिका जस्तो अति विकसित देशले पानीका लागि जङ्गललाई महत्व दिइरहेको छ । अमेरिकामा बग्ने पानीको दुइतिहाई जङ्गलबाट उत्पन्न हुने दावी क्याथी एब्युसो (सस्टेनेबल फोरेष्ट्री इनीसियटिभ) र कार्लटन ओवेन (युएस इन्डोमेन्ट फर फोरेष्ट्री) एण्ड कम्युनीटीजका कार्यकारी निर्देशकहरुको रहेको छ । यहाँको सफा पानीसम्मको मानवीय पहुँच वृद्धिका लागि वनको संरक्षण सबैभन्दा सस्तो र भरपर्दो माध्यम हुन पुगेको छ । अमेरिकामा दर्जनौं समुदायहरु जङ्गल संरक्षणबाट पानीको स्रोत जोगाउन र पानी प्रयोग गर्नमा लागिरहेका छन् (www.livescience.com) ।
चीनले सार्वजनिक गरेको प्रकृति संरक्षणको नयाँ संयन्त्र र सिद्दान्तले संरक्षित क्षेत्रमा हुने मानवीय कृयाकलापलाई नियन्त्रण गर्ने योजना अघि सारेको छ । यसका साथै सन २०३५ सम्ममा संरक्षित क्षेत्रमा हालको भन्दा उन्नत र प्रभावकारी व्यवस्थापन रणनीति लागु गर्ने भएको छ । हालसम्ममा चीनले ११८०० संरक्षित क्षेत्र स्थापना गरिसकेको छ (www.xinhuanet.com) ।
नेपाल वातावरण संरक्षण तथा प्राकृतिक स्रोत संरक्षण र व्यवस्थापनका केही मार्गनिर्देशक अन्तराष्ट्रिय महासन्धीहरुको पक्ष राष्ट्र भएको छ । ती सबै महासन्धीहरुको सारभुत लक्ष्य भनेको वन,वनस्पति र जङ्गली जनावरहरुको सुरक्षा संरक्षणका अतिरिक्त प्राकृतीक स्रोतहरुको दीर्घकालीन प्रयोगका मानकहरु लागु गर्नु रहेको छ । नेपाल पक्ष राष्ट्र भएका अन्तरराष्ट्रिय महासन्धीहरु अनुकुल नेपालको राष्ट्रिय कानुन परिमार्जन गर्ने र लागु गर्ने दायित्व नेपाल सरकारले व्यक्त गरेको छ । ती महासन्धीहरुले संरक्षित क्षेत्रलाई मानव हस्तक्षेपबाट मुक्त राख्ने बाध्यकारी नियम बनाएका छन् ।
नेपालको संविधानको धारा ३० स्वच्छ वातावरणको हक:(१) प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । (२) वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिवापत पीडितलाई प्रदूषणबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।
संविधानको धारा ३५ को (४) प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ । स्वच्छ खानेपानीको स्रोतहरु संरक्षित गर्न सकिएन भने यो धाराको कार्यान्वयन पनि असम्भव हुन जान्छ ।
नेपालको संविधानमा राज्यका निर्देशक सिद्दान्तहरुले वातावरणलाई ठूलो महत्व दिएका छन् । ती सिद्दान्तमा भनिएको छ-
(छ) प्राकृतिक साधन स्रोतको संरक्षण,संवर्धन र उपयोग सम्बन्धी नीति: (१) राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मसात गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको संरक्षण,सम्बर्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गर्ने र स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिंदै प्राप्त प्रतिफलहरूको न्यायोचित वितरण गर्ने,
(५) जनसाधारणमा वातावरणीय स्वच्छता सम्बन्धी चेतना बढाई औधोगिक एवं भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन, वन्यजन्तु,पंक्षी,वनस्पति तथा जैविक विविधताको संरक्षण,सम्बर्धन र दिगो उपयोग गर्ने(६) वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वन क्षेत्र कायम राख्ने(७) प्रकृति,वातावरण वा जैविक विविधतामाथि नकारात्मक असर परेको वा पर्न सक्ने अवस्थामा नकारात्मक वातावरणीय प्रभाव निर्मूल वा न्यून गर्न उपयुक्त उपायहरू अवलम्बन गर्ने आदि ।
अब प्रश्न उठ्छ प्रकृतीलाई संरक्षण नगरी संरक्षित क्षेत्रहरुमा मानव हस्तक्षेप निम्त्याएर यी संवैधानिक आकांक्षहरु आपूर्ति हुन सक्छन् ? वातावरणको कुरा गर्दा संसारमै स्वच्छ पानी र स्वच्छ हावालाई नै जोड दिने गरिएको छ । वातावरणीय हकहरुलाई हाल आधारभुत मानवअधिकारमा समाविष्ट गरिएको पाइन्छ । संविधानमा व्यवस्थित माथिका प्रयोजनहरुलाई व्यवहारमा उतार्न नेपाल सरकारले अक्सिजन र पानीका स्रोतहरु संरक्षणमा ध्यान दिनु जरुरी छ ।
संसारका ठूला शहरहरुमा सफा र सुरक्षित पानीका लागि जङ्गल संरक्षणमा ध्यान दिइएको छ । वातावरणीय समस्याका कारण संसारमा सफा र बग्ने पानीको मात्रा घट्दै गएको छ । स्यु स्टोलटन र निगेल डड्लीले इक्वीलीब्रयिम रिसर्चका लागि गरेको अनुसन्धानमा सहरी जनसंख्याका लागि पानीको आपूर्ति गर्न जङ्गल संरक्षण नै सबैभन्दा भरपर्दो पद्दति भनेका छन् (http://www.fao.org) ।
हाल खासगरी शहरहरुमा पानीको आपूर्ति गर्नु कुनै एक शहर व्यवस्थापनको मात्र नभएर अन्तरराष्ट्रिय तनावको बिषय हुन गएको छ । शहरी गरीबहरु मात्र नभएर मध्यम वर्गीयहरु पनि पानी संकटबाट ग्रस्त छन् । यदि सफा पानी मात्र प्राप्त हुने हो भने युगाण्डाको चाँडो मृत्यु दरलाई २३ प्रतिसत तल झार्न र क्यामरुनको ३० प्रतिसत तल झार्न सकिने निचोड युएनडीपीको छ । नेपालको अवस्था पनि यस भन्दा खास फरक होला र ? संसारका शहरमा बस्ने एक तिहाई जनसंख्या पिउने पानीको हाहाकार भोगिरहेका छन् । ठेक्काबाट राजनीतिक दल,सरकार,व्यापारी, जस्ता समुदायलाई प्राप्त हुने कमीसन वा घुसका कारण सहज कम खर्चिलो र जङ्गलबाट बग्ने गुण्स्तरीय पानी उपयोग गर्ने कुरामा सरकारहरु त्यति ध्यान दिन रुचाउँदैनन् ।
सन् २००३ मा WWF ले संसारका धेरै जनसंख्या भएका १०० शहरमा गरेको अनुसन्धानमा जङ्गलले ती शहरलाई गुणस्तरीय पानी आपूर्ति गर्न सकेको प्रमाण पेश गरेको छ (www.fao.org) । संसारका केही ठूला शहरहरु पानीका लागि जङ्गल संरक्षणलाई ध्यान दिन थालेका छन् । अमेरिकाको सन्फ्रान्सिस्कोको लगभग ८५ प्रतिसत जनसंख्याले योसेमिते नेसनल पार्क स्थित हेचहेची सिमसारमा उपलब्ध खाने पानी प्रयोग गरिरहेको माथिका अध्ययनहरूको निश्कर्ष छ । त्यसैगरी अमेरिकाकै सियाटलका १२ लाख मानिसहरु पनि सिमसारबाट प्राप्त पानी प्रयोग गर्दछन् । मुम्वइ,जाकर्ता मनिला,कराँची,बोगोटा,रियो दे जेनेरियो, क्वीटो,काराकास,म्याड्रिड,सोफिया अबिजान,केपटाउन,हरारेजस्ता ठूला शहरहरुमा आवश्यक पानीको ठूलो मात्रा संरक्षित क्षेत्रबाट प्राप्त भइरहेको विभन्न समयका अध्ययनहरूले देखाएको छ ।
नोट: यो लेख तयार पार्न अध्ययन गरिएका सन्दर्भ सामग्रीहरु
(https://www.
h(ttp://www.anantaajournal.
(https://www.
h(ttp://www.anantaajournal.
http://www.fao.org/3/a1598e/
http://www.fao.org/3/a1598e/
http://www.fao.org/3/a1598e/
http://www.fao.org/3/a1598e/
https://www.adb.org/sites/
file:///C:/Users/user/