म बिनाको नागरिकता !

रगताम्य गुराँसका ओठहरु
रगताम्य नदिका छालहरु
विवेक हराएका मान्छेहरुका भिडमा
घाइते सिमानामा उभिएर
मौन सगरमाथा हेरेर
चन्द्र-सुर्य झन्डालाई हान्ने बतासले ल्याएको
मृत्युको समाचार सुनेर
म, सोच्दै छु।

रोशनीको तलासमा,
परेड हेरेर गाउँ घरमा मृत्युको
जूलूस हेरेर शहरमा नपुङ्सकहरुको
साँझको घाम सङ्गै त्यो अधमरे उज्यालोमा
थोत्रो गलैंचामा लखतरान
पल्टिएर, किताबका पाना पल्टाउदै
हरफहरुमा भबिस्यको रेखा खोज्दै
जब म, समवेदना हराएको शहरमा
घाइते परेवा छातीमा च्यापेर
बन्दुकको नालको अघिल्तिर
मनमनै जपिरहेछु, बुद्धम शरणम गच्छामी
तब म सोच्छु, मेरो नागरिकताले मलाई छोडेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *