धनकुटाका सीपयुक्त युवा आर्थिक अभाव झेल्दै
|अहिलेको माहालक्ष्मी नगरपालिका मारेक कटहरेका २१ वर्षीय युवराज पाँचकोटी बिना तालीम नै स्वतः प्राप्त सीपलाई जनमानसमा ल्याई राष्ट्रको सेवामा समर्पित गर्न चाहान्छन् तर उनले कसैबाट पनि कुनै सहयोग प्राप्त गर्न सकेका छैनन् ।
दलित तथा पिछडिएको परिवारमा जन्म लिएका पाँचकोटीले वाल्यकालमा नै अमिनीले प्रयोग गर्ने टेलिस्कोप र त्यसलाई मोटरको प्रयाग गरी गुड्ने बनाएका थिए । धनकुटाकोे प्राकृतिक छटायुक्त रमणीय चित्रे तथा सिंधुवाको बातावरणमा हुर्केका युवराजले त्यहाँबाट देख्न सकिने मकालु, कुम्भकर्ण, कंचनजंगा जस्ता हिमालहरुको सौदर्यपानले आकाशसँग आफूलाई जोड्ने सपना देख्न थाले । बाल्यकालदेखि नै यिनलाई वैज्ञानिक बन्ने चाहना हुन थाल्यो । शुरुमा यिनले रेडियो, लुगा सिलाई गर्ने मेसिन मर्मत, बाँसको मादल र अन्य कैयौं प्रकारका काष्ठजन्य सामग्री बनाएका थिए ।
त्यति मात्र नभई व्याट्री तथा पेट्रोलबाट चल्ने डोजर बनाई यिनी जिल्ला शिक्षा कार्यालय धनकुटाले आयोजना गरेको कार्यक्रममा प्रथम स्थान हासिल गर्न सफल भएका थिए । साथै यिनले मान्छेसँग बोल्न सक्ने, मानिस सामु भएका सामानहरुलाई ल्यापटपको सहारा लिई उसकै निर्देशन अनुसार जुनसुकै स्थानमा लैजान सक्ने रोवर्टको निर्माण गरी भीरगाउँको विद्यालयमा प्रदर्शन गरेका थिए ।
यसैगरी उडिरहेको बायुयानमा वसेको मानिससँग सम्वाद गर्न सक्ने एउटा ड्रोनको समेत यिनले निर्माण गरेका छन् । यो ड्र्रोन राखिएको कोठाबाट कुनै सामग्री कसैले टिपेर लगेको सूचना आफू भएको ठाउँसम्म तत्काल आफ्नो फोनमा अटो कल हुने मेसिन समेत उक्त ड्र्रोनमा स्थापित गरी यिनले धनकुटाको गोकुण्डेश्वर माविमा प्रदर्शन गरी दर्शकहरुलाई चकित पारेका छन् ।
हाल यिनी मानव सहित उड्ने हेलिकोप्टर निर्माण गर्ने अभियानमा लागेका छन् तर आर्थिक अभावका कारण सफल भइरहेका छैनन् । यिनी हाल हातमा डटपेन लिई आफैं लेख्न सक्ने र मानिस जस्तै हिंड्न सक्ने रोवर्ट निर्माणमा लागिपरेका छन् ।
युवराजलाई आर्थिक अभाव त छंदैछ यसका अतिरिक्त निर्माण गरिएका सामग्री राख्ने कुनै उचित कोठा समेत छैन । यिनको उचित प्रचार प्रसारको पनि अभाव भएको छ । यिनी ती सामग्री राख्ने एउटा प्रयोगशाला तथा अनुसन्धान कक्ष चाहान्छन् । सामग्री राख्ने सुरक्षित कोठा नहुँदा निर्मित सामग्री नष्ट हुने र हराउने गर्दछन् । आर्थिक अभावका कारण आवश्यक निर्माण सामग्री नपाइने उनको मुख्य समस्या हो भने उच्च शिक्षाका लागि शुल्क तिर्न र पुस्तक किन्नसम्म पनि अभाव बेहोर्नु परिहेको छ । परिवार अत्यन्त गरीव भएको कारण परिवारका सदश्य आफैंलाई खान धौ(धौ परिरहेको छ । तर पनि आफूले खान बस्नका लागि एउटा प्राइवेट कम्पनीमा बिक्रेताका रुपमामा काम गरी मासिक ८ हजार लिई पेटपालन सम्म गरिरहेका छन् । यिनी हाल गोकुण्डेश्वर माविमा विज्ञान विषय लिई कक्षा १२ मा अध्ययन गरिेरहेका छन् ।
पाँचकोटी नयाँ प्रयोग र प्रदर्शन गर्नका लागि हेली पंखा, प्लेन आइडिक्रश, आल्मुनियम, युटिलिटी, ट्रान्जिस्टर, वायरलेस सामानहरु, तथा प्रयोगशालाको अभाव रहेको बताउँछन् । यिनले आवश्यक सामग्री प्राप्त गर्ने श्रोत कहाँ हो ? कसलाई भन्नु पर्ने हो ? भन्ने थाहा पाउन सकेका छैनन् । यिनलाई माहालक्ष्मी नगरबाट ५० हजार र धनकुटा नगरबाट १० हजार त प्राप्त भएको छ तर त्यो हात्तीको मुखमा जिरा जस्तो मात्र हुन गएको छ । आवश्यक श्रोतमात्र जुट्न सके पाँचकोटीको सीप पक्कै पनि राष्ट्रले सदुपयोग गर्न सक्थ्यो ।
मुलुक आफ्नै वैज्ञानिक नभएको अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा यस्ता नयाँ पुस्ताका सीपयुक्त युवाहरलाई थप सीप र हौसला प्रदान गर्न सके निश्चय पनि नेपालले केही गर्न सक्थ्यो होला भन्ने अपेक्षा गर्न सकिन्छ ।