विचार बिनाको सिनेमा खोक्रो आदर्श हो

श्यामश्वेत पर्दा भित्र सलबलाउने बिचित्रका रंगीन पात्रहरु हेर्दा मलाई अचम्म लाग्थ्यो। लाग्थ्यो – कसरी त्यहाँ भित्र छिरे ति मानिस। बिस्तारै त्यो कौतुहल र सिनेमाको प्यास बढ्दै गयो संगै मेरो उमेर पनि। सिनेमा कसरि बन्छ ? त्यहाँ भित्र मानव जाति कसरी छिर्छन ? छिनको छिनमै कपडा कसरि फेर्छन ? भन्ने कुराको छट्पटाहट र प्यास बोकेरै मैले एस.एल.सी हुदै प्लस टु सके । त्यो छट्पटाहटको भुमरीमा उड्दै उड्दै म ब्याचलरको लागि ओस्कार ईन्टरनेसनल कलेज( कलेज अफ फिल्म स्टडिज) मा भर्ना हुन पुगे । कलेज पढ्दै गर्दा विश्व सिनेमा जगतका बारेमा अध्यन हुदै गयो । सिनेमाको बारेमा अरुका सिनेमा हेर्दै बिस्तारै आफ्नै द्र्ष्टिकोण बन्दै गयो ।

सिनेमामा भनेको विचारसंग सम्बन्धित एउटा विराट बिषय हो । त्यसैले यसमा फरक फरक मानिस बीच फरक फरक धारण हुने गर्छ । मेरो बिचारमा, एउटा सिनेमा कलेजबाट स्नातकोत्तर हासिल गरेको बिद्यार्थीको रुपमा भन्नु पर्दा सिनेमा एउटा विचार सम्प्रेषण गर्ने माध्यम हो । सिनेमामा विचार नै अर्थपूर्ण हुन्छ । मुलत: साहित्यमा विचार भाषा द्वारा, अक्षर द्वारा सम्प्रेषण हुन्छ । यहि कुरा सिनेमामा पनि लागु हुन्छ तर यसो भनिरहदा सिनेमा र साहित्य एकै हुन् भन्न खोजेको चै होईन । मानिसहरु भन्ने गर्छन कि सिनेमा पनि साहित्य हो तर मलाई त्यस्तो लाग्दैन । हो सिनेमा र साहित्य एकअर्कामा सम्बन्धित बिषय ( इन्टर कनेक्टेड) हुन् । तर विधा फरक छ । शैली फरक छ । साहित्यमा भाषाद्वारा विचार व्यक्त गर्दा विशिष्ट अभिव्यक्ति हुन्छ तर सिनेमामा भाषासँगै भिज्युल ल्याङ्गोयज जोडिएर आउछ ।

सिनेमा किन बनाईन्छ ? यस प्रश्नसंगै विचार र दृष्टिकोण जोडिन्छ । दृष्टिकोण अर्थात संसार जगतलाई हेर्ने आँखा हो । यसमा प्रष्ट हुदा विचार जोडिन्छ । त्यसैले जीवन जगतलाई खोतल्ने र दृष्टिकोणमा स्पष्ट हुने क्रममा सिनेमामा विचार स्वत आउने गर्छ । भौतिकवाद र अध्यात्मिकवाद दुई बिपरित ध्रुवका दृष्टिकोण सिनेमासंग जोडिन्छ । सिनेमाको सिर्जनाक्षेत्रको चयन विचारको रोजाई हो । वास्तवमा सिनेमामा विचार नै प्रगाढ हुन्छ । सिनेमामा निर्देशक वा लेखक बाँचेको युग र समाज प्रतिविम्ब हुदा नै सिनेमाको सिनेत्वको उर्जा उच्च हुन्छ । युगको मर्ममा, समाजको खुशीमा लेखक/ निर्देशकको देश र अन्तरक्रिया नै सिनेमा प्रस्फुटन हो । सामाजिक अभ्यास र दोन्दको गहिराईमा सिनेमाको अर्थ घनिभूत हुन्छ । युगको अस्तिस्त्व र गति अभिव्यक्त गर्न सक्ने निर्देशक नै प्रतिभाशाली निर्देशक हो र उसले युग र समाजलाई विचारमा उत्प्रेरित गर्छ सिनेमाको माध्यमबाट ।

निर्देशक र सिनेमा गतिशील विचारको पक्षपाती हुन्छ । यथास्थितिको जडतामा ठिङ्ग्रिएको सिनेमा मूल्यहीन हुन्छ । सिनेमा क्षेत्रमा भएको अन्धकारको विरुद्द जुझारु भएर उज्यालोको पक्षमा मत जाहेर गरेर सिनेमा क्षेत्रलाई उज्यालो बनाउने सिनेमाको विचार वास्तवमा सर्वोत्कृष्ट हुन्छ । सिनेमामा दृश्य र धोनीको खेल हुन्छ । यो चयन क्षमता र प्रविधिको निपूर्णता हो। प्रविधि कलात्मक हुनु सिनेमाकै विशेषता भएकाले सिनेमामा पनि प्रविधिको कलात्मक गुम्फन हुन्छ । दृश्य भाषाको खेल भित्र बिम्ब, प्रतिक र अलंकार विशिष्टता झल्कन्छ । त्यो विशिष्टता सिनेमाको सुन्दर पक्ष हो। कतिले यहि सौन्दर्यमा सिनेमाको अर्थ भेट्छन तर विचारको जलप नलगाई यो सौन्दर्य चम्किलो बन्दैन । यसमा निर्देशक प्रस्तुतिको बाटो खोज्छ । अनि त्यस बाटामा सम्पूर्ण सिनेमा हिड्छ । निर्देशकको प्रतिभाको नौलोपन यसमा सहजै देखिन्छ ।

सिनेमाको पनि आफ्नै लय हुन्छ । जस्तो कवितामा हुन्छ । त्यो लय भनेको विचार संगै जोडिएको हन्छ । निर्देशकको विचारसंग । असल बिचारलाई कुशल प्रविधिमा व्यक्त गर्दा सम्प्रेषणको प्रभाव पर्छ। फास्ट कटिङ्ग सिनेमा होस् वा स्लो पेसको सिनेमा होस् त्यो सिनेमाको लयमा लयात्मक सौन्दर्यको खोजि निर्देशकको विचारले नै गर्छ। सिनेमाको आवश्यक तत्व हो तर यो नै प्रधान भने हैन । वास्तवमा कुशल र असल निर्देशकले नयाँ लयको सिनेमा जन्माउछ र सिने युगको नेतृत्व गर्छ ।

बुद्दि पक्ष हार्दिकतामा घुलित हुँदा नै सिनेमाले छुन्छ । यस किसिमको सम्बल समाजबाटै लिनुपर्छ। समाजको वर्तमानिक दोन्द नै आजको सिनेमा हो । वर्तमानबाट भागेर, तर्सेर र प्रतिगामी भएर आजको सिनेमा लेखिदैन र बनाईदैन । आफ्नो उपस्थिति भेडा भेडाको द्धन्द्धमा सीमित पार्नाले सिनेमा विचारबाट टाढिन्छ । यस किसिमको टढाईसंगै तटस्थताका नाममा अमुर्त पक्ष आउँछ र भावात्मक आवेग खज्मजिन्छ । यसले सिनेमाको वैचारिक तीव्रता र उत्कृष्टतामा प्रभाव पार्छ । सिनेमा जीवनजस्तै व्यापक र विविधताले भरिएको तर्क भित्र विचारको विविधता आउने तर्क जन्मन सक्छ । मेरो विचारमा विषयगत विविधता भनेको वैचारिक विविधता होईन । प्रेम, संघर्ष, मर्म, गरिवी र शोषण आदिको अनुभूतिमा जीवनको विविधता सिनेमामा आउनु स्वभाबिक नै हो ।

सिनेमा विचारको यात्रा हो। निर्देशक सिनेमाको संसारमा हराउँदाको लहड मात्र नभएर यथार्थको बोध गर्ने अभ्यास पनि हो । निर्देशक अल्लारेपनबाट जति जवान बन्छ त्यति नै वैचारिकतामा उच्च हुन्छ । सिनेमाको उचाई वैचारिकतामा नै उच्च हुन्छ । सिनेमा आफैमा राम्रो वा नराम्रो हुदैन । दर्शकका स्वादमा भर पर्छ । एउटालाई मन परेको सिनेमा अर्कोलाई मन नपर्न पनि सक्छ । तर चाहे दर्शकलाई राम्रो लागोस या नलागोस सिनेमामा विचार चै हुनुपर्छ । विचार बिनाको सिनेमा खोक्रो आदर्श छाटेको जस्तै हुन्छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *