सयपत्री


सयपत्री म यो मेरो अङ्गमा सय पत्र छन्
सम्झनू पत्र यी मेरा उज्याला सय नेत्र हुन्
म देख्छु चुँड्न आएका मान्छेका निर्दयी कर
मुखमा मनको विम्ब भएको दृष्टिगोचर

नटिप् नटिप् नटिप् भन्ने एउटा मन सुन्दर
टिप् टिप् भन्दै दिने उर्दी अर्को मन असुन्दर
म बुझ्छु मनको द्वन्द्व र त्यसै अमिलिन्छु म
जित्छ बर्बर वाञ्छाले र टपक्कै टिपिन्छु म

टिपिएर कुनै बेला द्यौताको शुभ नाउँमा
मूर्तिको शिरमा कैले चढाइन्छु म पाउमा
पुग्दा मन्दिरमा लाग्छ भएझैँ सार्थ जीवन
कुल्चिँदा तर खुट्टाले दुख्छ अत्यन्त यो मन

उनिन्छु कहिलेकाहीँ माला बनेर सुन्दर
गरेझैँ लाग्छ मान्छेले मलाई पनि आदर
गलामा भाइबैनीको लगाइन्छु तिहारमा
लाग्छ जीवन यो मेरो अर्पिएझैँ पियारमा

गलामा सजिँदा भित्री श्रद्धाले योग्य पात्रमा
बल्दछन् हर्षका दीप मेरा प्रत्येक नेत्रमा
मिलेझैँ लाग्छ त्यो बेला क्यै अर्थ बलिदानको
भावना जाग्छ आस्थाको स्नेहको स्वाभिमानको

तर दम्भी हठी स्वार्थी मिथ्यावादी अयोग्यका
गलामा स्वार्थले होस् वा भयले म लगाइँदा
चिरिन्छ मुटु यो आत्मा पोल्छ मेरो पलापला
लाग्छ काँडा बनी त्यस्ता दुष्टको कोपरूँ गला

म आफ्नै रङ्ग बोकेर फुल्न चाहन्छु सत्यमा
बास्ना पोखेर धर्तीमा मिल्नखोज्छु शिवत्वमा
सुन्दरत्व छरी हाँस्छु छोटो छ जिन्दगी भनी
मान्छे ! नखोस यो हाँसो सके हाँस तिमी पनि ।

One Comment

Leave a Reply to Alka Malla Cancel reply

Your email address will not be published. Required fields are marked *