एनआरएन अध्यक्षको प्रचारका लागि आचार्य उत्तर अमेरिकातिर

आउँदो अक्टोबर महिनामा काठमाडौँमा हुन गैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलन अघि एनआरएनमा चुनावी अभियान शुरु भएको छ । केन्द्रिय अध्यक्ष पदका लागि उम्मेदवारी दिने जनाएका संघका उपाध्यक्ष कुल आचार्यले यो साता अमेरिका र क्यानडा तर्फ लाग्दैछन् । आचार्य भोली अगस्ट १३ बुधबार न्यूयोर्क, बिहीबार डलास तथा शुक्रबार टोरन्टो पुग्ने कार्यक्रम रहेको बताएका छन् ।

“हामी एनआरएन अभियानको महत्वपूर्ण चरणमा आइपुगेका छौं। आउने नयां नेतृत्वले अहिले सम्मका उपलब्धिहरुलाई संस्थागत गर्दै आगामी दिनहरुका लागि ठोस र दूरदृष्टिपूर्ण योजना ल्याउनु पर्नेछ। त्यसका लागि बलियो एनआरएन र डाइनामिक नेतृत्व आवश्यक छ। यिनै विषयमा छलफल गर्न म अमेरिका र क्यानाडा जान लागेको हुँ,” आचार्यले नेपालीपोष्टसँग भने।

संघका अर्का उपाध्यक्ष कुमार पन्तले पनि आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने बताइ सकेका छन्। तर अहिले विभिन्न मुलुकहरुमा गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय समितिहरुको चुनाव भै रहेकाले उम्मेदवारहरुको औपचारिक चुनावी अभियान सेप्टेम्बर महिना देखि मात्रै शुरु हुने अपेक्षा गरिएको छ।
आउँदो अक्टोबर १३ देखि १६ तारिख सम्म काठमाडौँमा हुन गैरहेको नवौं विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ। संघका वर्तमान अध्यक्ष भवन भट्टले भने दोश्रो कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरिसकेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *