आमा

तिम्रो सानो अंश म,
कता-कता भौतारिरहन्छु नजाने के भेट्न ?
उड्दै उड्दै कहाँ कहाँ
तिमीदेखि पर पर
जसो जसो हावाले बहायो
उसै उसै बतासिंदै लहरिंदै
निरुदेश्य-निरुपाय
तिम्रो नाभिसङ्ग जोडिएकी म
नजाने के खोज्दै कता अल्मलिएको छु,
तिमी देखि टाढा
आँफैदेखी टाढा ।

आजकल
मुटु चस्स चस्स दुखिरहन्छ,
आँखाहरु आँफै रसाइरहन्छन् ,
यस्सै बिनाकारण
तिम्रै एक कण
तिमिलाई पो थाहा छ कि
किन यस्तो भइराख्छ ?
मैलेभन्दा पहिल्यै
धेरै पहिल्यै यो संसार भोगेकी तिमी
भन्देउन किन हरदम बादल आँखाभित्र
तयार झरिदिन
किन एक टुक्रा बाफ छातीभित्र
उकुसमुकुस मडारिरहन्छ ।

भन्नेहरु त भनिदिन्छन्
बग्नुपर्छ बेस्सरी
चाहे जीवन हो या आँसु
अडिनुहुन्न कहीं कतै स्थिर-स्थूल
तिमी त सदा अटल अनि अचल
जीवनप्रती
यो जगतप्रति
बताइदेउन
तिम्रै श्वासले बेरिएकी म
बगिदिंदा पनि कसरी स्थिर रहनु ?
लहरिंदै बहकिंदै नि कसरी अचल रहनु ?
आँफैलाई नहराई कसरी पाउनु जीवन ?

Add a Comment

Your email address will not be published. Required fields are marked *