बुद्धले बन्दुक बोक्दै छन्

सगरमाथाले झारिरहेको आँसु
लालीगुराँसको ओठबाट बगिरहेको रगत देखेर
आफैंले सुनाएका उपदेशहरुसँग
मरण र जीवनको एक शुन्य प्रहरमा
लडाइँ पछिको रगत पिउने
व्यग्र प्यासले
बुद्धले बन्दुक बोक्दै छन्।

आफ्नै देशमा
आफ्नै अस्तित्व मेटिदै गरेको देखेर
आफ्नै बाबुको जनै काटिएको देखेर
आफ्नै आमाको चोलो च्यात्तिएको देखेर
आफ्नै बहिनीको बुर्काको कालो रङ्ग उडेको देखेर
सुकिला आवरणले ढाकिएको लासकै अगाडि
आफ्ना पाईला टक्क रोकेर
बुद्धले बन्दुक बोक्दै छन्।

बाक्लो आवरणले ढाकिएका लासहरु
सत्ताको लिसोमा अल्झिदा
मेरो र तेरो, नफर्फराउने झन्डाको आडमा
गर्मिलो घाम ओढेका
सुख्खा पार्टीहरु
मन्द विषका थोपा हुँदा
त्यही थोपाले ओठ भिझाई
आँखा बन्द गरेर
बुद्धले बन्दुक बोक्दै छन्।

गणतन्त्रको आडमा
आफ्नो सानो छोरालाई
देश लेख्न सिकाउदै गर्दा
जेठी छोरिको बलात्कार हुँदा
आँसु झार्दै गरेको बाबुलाई देखेर
बुद्धले बन्दुक बोक्दै छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *