अग्लो मान्छेको पुड्को उचाइ
|ओइ टासी,
मान्छेले त
शीरमा सेतो ओढेर
मान्छेकै बरखी बार्छ
र, समय आएपछि
आफ्नै रङ्ग पनि फेर्छ
तर
हिमालले चैं
टाउकोभरि
सेतो ओढेर
कस्को बरखी बारेको हौ ?
युमा,
हिमालले
कसैको बरखी बार्दैन
सेतो त हिमालको रङ्ग हो
उसले
कहिल्यै रङ्ग फेर्दैन
रङ्ग फेर्ने भए त
हिमाल पनि
मान्छे भै हाल्थ्यो नि !
मान्छे भा’को भा त
हिमाल पनि
मान्छे जस्तै
पुड्के देखिई हाल्थ्यो नि हौ !
आफ्नै उचाइमा
विश्वास नभएरै त हो-
मान्छे दिनदिनै
होचो हुनु परेको
जति नै अग्लो ठाउँमा पुगे पनि
उचाइसँग नमिलेरै त हो
मान्छे
छिनछिनमै
तल झर्नु परेको !
मान्छेले पनि
हिमालबाट सिक्नु नि-
जति नै अग्लो भए पनि
हिमालले
धर्ती छोडेको हुँदैन
जति नै माथि गए पनि
हिमालले
फेदी भुलेको हुँदैन ।
धर्ती नछाड्नेहरू
कहिल्यै होचा हुँदैनन्
फेदी नभुल्नेहरू
कहिल्यै फुच्चा लाग्दैनन् ।
युमा,
तिमी पनि त भन्थ्यौ नि-
रङ्ग नफेरेरै
हिमाल हिमाल भएको हो
आफ्नै रङ्गमा विश्वाश गरेरै
हिमाल सुन्दर बनेको हो ।
मान्छेले पनि
आफ्नो रङ्ग नफेरे त
ऊ जति सुन्दर
अरू के पो हुन्थ्यो होला र ?
आफू उभिएको माटो
र, आँफैले बनाएको बाटो
उसले पनि नभुले त
मान्छेको ठाउँमा
अरू को पो आउँथ्यो होला र ?
कस्तो मीठो र बिम्बात्मक !
Surdar Srijana मान्छेले पनि
आफ्नो रङ्ग नफेरे त
ऊ जति सुन्दर
अरू के पो हुन्थ्यो होला र ?
आफू उभिएको माटो
र, आँफैले बनाएको बाटो
उसले पनि नभुले त
मान्छेको ठाउँमा
अरू को पो आउँथ्यो होला र ?
Gajjab line