बा ‘ कहिल्यै रूनु भएन
|जब जब दुःख आइलाग्थ्यो,
एउटा छेउमा बसेर
आमा रून थाल्नुहुन्थ्यो,
बा यताउता हेरेर
मायाले सम्झाउनु हुन्थ्यो,
र भन्नु हुन्थ्यो-
‘ न रो ,जे परे पनि म छु नि ।’
हामी किंमकर्तव्यविमुढ भएर
बा ,आमालाई हेरिरहन्थ्यौं
आमा झन झन रूनु हुन्थ्यो
तर बा पटक्कै रूनु हुन्थेन
वरू पानी पिउनु हुन्थ्यो
दुख घुट् घुटी निल्नु हुन्थ्यो
त्याे कारूणिक दृष्य
हामी टुलु टुलु हेरिरहन्थ्यौं ।
तर बा आमाको त्यो मौन दुःख
छाम्न, स्पर्स गर्न सक्दैनथ्यौं
आमा आँशु बगाएरै दुःख पखाल्नु हुन्थ्यो ।
र हल्का हुनु हुन्थ्यो
बा आँशु लुकाएर दुःख निल्नु हुन्थ्यो
र भारि मनसँगै हिडनु हुन्थ्यो ।
बा असह्य वेदनाहरू लुकाएर
मैन वत्ती झैं जलिरहनु हुन्थ्यो
र उज्यालो दिईरहनु हुन्थ्यो
बेला बेलामा छाती थिचेर
हृदयबाट बहेको तातो रगत
हत्केलाले छोपेर भन्नु हुन्थ्यो-
‘धेरै नरो ,जे भए पनि म छु नि’
बा सधैं यसै भनि रहनु हुन्थ्यो
र दुःख संग जुधी रहनु हुन्थ्यो ।
हामी बालाई हेरिरहन्थ्यौं,
उहाँ दुःख लुकाएर हाँस्नु हुन्थ्यो
परेली भित्रै आँशु सुकाएर ,
हामी तिर फर्केर भन्नु हुन्थ्यो-
‘दुःखी नहुनु जे परे पनि म छु नि ।’
भित्र भित्र जे भए पनि
बा आमा झैं कहिल्यै रूनु भएन
बरू आफैं पग्लिएर सकिनु भो
अन्तत: हामी सवैलाई छोडेर,
अनन्त यात्रामा जानु भो,
कहिल्यै नफर्कने गरि ।
(कवि प्रतीकले आफ्ना पिताजी भद्रकृष्ण खनालको स्मृतिमा लेख्नु भएको शब्द श्रदान्जली)