बालापनको तीज यादहरूमा आउँछ घुमिफिरी !

उमेर त ठ्याक्कै याद छैन। तर उमेर भन्दा कान्छा अरु धेरै कुराहरु याद छन्। तीज पनि यस्तै यादहरूमध्ये एउटा हो ।

– तीज, शब्द र अर्थ त्यती धेरै त थाहा हुन्थेन । तर दर भन्ने बित्तिकै तीजजस्तो लाग्थ्यो। निद्रा त लागे पो सुत्नु ! आमाहरुसँगै जाग्राम बसिन्थ्यो।

– तरर्र चुहिने गरि घिउ हालेर पकाएको मसिनोको भुजा र लट्टे। घिरौंला र चिचिन्डोको तरकारी। ऐले पनि तीज सम्झिँदा मन उतै पुगिहाल्छ । तर यादहरु जस्तै कहाँ फर्किँदो रहेछ र त्यो उमेर बालपन ?!

– आँखी झ्यालबाट भित्र उज्यालो नछिरोस् भनेर गुन्द्रीले बार हालेर खाइन्थ्यो दर। घिउ बिशेष हुन्थ्यो । “आडिलो हुन्छ ल ल यति पिएर सुत् । भोली पानी पनि खान हुन्न । छोरी मान्छे भएपछि ब्रत बस्नु पर्छ ।”

– गिलासभरि दूध र घिउ मिसाएर राती नै पिउन लगाउनु हुन्थ्यो आमाले । हामी दिदी बहिनी पनि जे जे भने नि मान्थ्यौं । तर छोरा मान्छे किन ब्रत नबस्ने होला भन्ने मनकै कुनामा थन्किएकै छ अझैसम्म |

– तीजको दिन पूजा गर्न आमाले आफूसँगै राख्नुहुन्थ्यो। मलाई छोएर बस् भन्नुहुन्थ्यो । बेला बेलामा फूल अक्षता दिएर हात जोड भन्नुहुन्थो । पूजा सकिने बेलामा भगवानसँग मनको इच्छा माग्नुस् भन्थे पुरेत बाले । बिहे भएकाहरुले लोग्नेका लागि लामो आयु माग्थे रे । यो कुरो पनि निकै पछिमात्रै थाहा पाएँ । तर हामी बिहे नभएकालाई गुरुले नै सिकाउँथे-“नानी तिमीहरुले असल पति पाम् भनेर हात जोड ।”

– असल शब्दसँगै त उति चिन्जान थिएन । झन् कसरी होस् चिन्जान असल पतिसँग ?

– बुझ्ने भएपछि,मनले भन्थ्यो-मेरो पति चुरोट नखाने होस् । त्यतिबेला आएन, जाँड -रक्सी नखाने, जुवातास नखेल्ने पनि परोस् भन्ने मन्त्र ।

– अझ बुझ्ने भएपछि हामी साथी-साथी आ-आफ्ना “माग” सुनाउँथ्यौं एकापसमा ।

– ‘चुरोट नखाने केटा परोस् भनें ।’ मैले मागेको सुनाउँथें ।
थप्थे सङ्गीहरू -“अनि रक्सी खाने चाहिँ ?”
– ‘परे नि परोस् ।’ मैले त्यता सोचेकै थिइन ।

– कस्तो मीठो संयोग ! मेरो माग पूरा गरिदिए भगवानले । मैले चुरोट नखाने नै पति पाएँ । बोनसमा मैले नमागेको रहर नि पूरा गरिदिएका छन् उनै भगवानले। सायद,साथीहरुको माग पो सुने कि ? जाँड रक्सी पनि नखाने पति पाएँ मैले पनि ।

– बिहेपछि ब्रतको दिन सासु आमैले नदेख्नेगरि पतिले नै पानी फलफूल खुवाउन थाले । कत्रो माया मेरो भोको पेटको । मायाले ब्रतलाई नै जित्न थाल्यो । यी नियम साँघुरा भए । हुँदा हुँदा मायाको नियमले जित्न थालेपछि त ब्रत नै पनि नै बस्न नपर्ने भयो ।

– ऐले लाग्छ,जिन्दगीमा बालापन जति मीठो अरु के हुँदोरहेछ र ?! गीतै छ नि-” फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर….।”

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *