उसले देखेको सपना !!!

सिउँदोको रातो सिन्दुर नभनिकन
बा को लठ्ठी र फुटेको चस्मा नबनाइकन
आमाको दन्किएको चिता नसेलाइकन
बलात्कृत बहिनीको आङ्गमा च्यादर नफ्याँकिकन
बेपत्ता आफन्तहरु नखोजिकन
ऊ देश खोज्न हिँडेको हो ।

दाजुलाई पोल्ने चिता नबनाइकन
भाइको शरीर भरी छरीएका गोलीका छर्रा ननिकालिकन
नानी-बाबुहरूको लासमा सुन्दर फूल नचढाइकन
ती कलिला अनुहारहरुमा सेतो कात्रोले पनि नछोपिकन
गोलिले रक्ताम्य बनाएको नानीको जामा नफेरीकन
ऊ देश फेर्न हिँडेको हो !

भर्खर अन्माएकी बेहुलीको घुम्टो नउघारीकन
सपनाहरूको कुमारीत्व नच्यातिकन
समयको गुलाबी गालामा चुम्बन नगरिकन
फक्रिएका रहरहरु नमुसारीकन
गर्भाशयको धरातलमा क्रान्तिका बिर्य नछरिकन
देशमा शान्तिको बिउ छर्न हिँडेको हो ऊ ।

भाँचिएको हलो नबनाइकन
धाँजा फाटेको धर्ती नजोतिकन
उम्लिएको रगत पसिनाले माटो नसिँचीकन
चिसा चुल्हाहरुमा आगो नसल्काइकन
भोका आन्द्राहरुको आगो ननिभाइकन
ऊ देशमा सल्किएको आगो निभाउँन हिँडेको हो !

हो यसरी सिन्दुर पुछिनुको बावजुद
काख रित्तिनुको बावजुद
शान्तिका भ्रुणहरु तुहिनुको बावजुद
आँखाहरु झिकिनुको बाबजुद
उसले देखेको हो
सुन्दर देशको सपना !!

Add a Comment

Your email address will not be published. Required fields are marked *