घाउ

बूढो सिमलको रूखमा
चुच्चे चराले-
बर्षौं ठुँगी ठुँगी बनाएको
कठप्वाल जस्तै भएको छ-
तिम्रो प्रेमको चुच्चाले
ठुँग्दा ठुँग्दा मेरो मुटुको प्वाल ।

यति हुँदाहुँदै पनि,
मैले बाँचेका हरेक क्षणमा
छैनन् भने तिम्रा दुखाईहरु/ठुँगाइहरु
किन नभए झैं लाग्छ स्वयम् जिन्दगी ?

अचेल
तिमीलाई सम्झिनुपर्छ-
एक सर्को सास तान्न पनि
एक सर्को सास फ्याँक्न पनि ।

तिमीले दिएका पीडा सम्झिँदा
गाँठो पर्छ मन
खुसी सम्झिँदा झन्
अझ धेरै गाँठाहरु पर्छन् ।

यो कस्तो जटिल लत बसेको तिम्रो मलाई ?

प्रिय ! लत बसेपछी
घाउ बन्दोरहेछ
मायाको पनि !
घृणाको पनि !
म त्यही घाउको
कलिलो खाटा भएर बाँचेको छु
आऊ बरु कोट्याइराख
म हाम्रो प्रेमलाई अझै ‘आलो’ बनाउन चाहन्छु…

Add a Comment

Your email address will not be published. Required fields are marked *