रारा-आव्हान
|रारा रारा युगयुग सुतिस् फर्किदे चेतनामा
नेपालीका दिलसुमनका छल्किदे जा कुनामा
भर्दे शोभा वन चहुरमा लेक बेंसी गरामा
छर्दे आभा नवप्रगतिको दूरका कन्दरामा ।
अग्लो हाम्रै गिरिशिखरको कान्तिमा शान्ति थप्दै
नेपालीको मन र मुटुमा राष्ट्रको गीत कप्दै
यौटा नौलो युगयुग हुने दे बिहानी मलाई
तोडी सारा कहर उठिदे फेर्न संसारलाई ।
छोई पाखा शिखरतलका सूनको दे बिहान
नेपालीको अतुल महिमा लेखिदे सिर्जनामा
बाला झुल्ने कनकमणिका शुभ्र चुम्दे तराई
उठ्दे रारा विमति विदिशा फालिदे चम्चमाई ।
नौलो ल्याई प्रहर छरिदे दिव्य निर्माण आभा
नेपालीको धुमिल नहुने दिप्ति भर्दे तकाजा
जोडी हामी थरिथरि सबै पत्र यो फूललाई
साझा यौटै मन र मुटु दे पूर्ण नेपाललाई ।
नेपालीमा अप्रतिम नयाँ दे तँ ज्योत्स्ना जगाई
गर्जी सारा पिडन नमिठा बिघ्न बाधा भगाई
हे धर्तीकी अप्रतिम शिखा शैलजा शक्ति भर्दे
जागी आफू घरघर जगा राष्ट्र निर्माण गर्दे ।
यौटा नौलो नवयुग तँ दे पूर्ण स्वातन्त्र्य चुम्ने
अप्ठ्यारा जो प्रगतिपथमा छन् सबै नाघ्न सक्ने
फर्फर् पार्दै अटल गिरिमा वीरताको पताका
उठ् हे रारा सुयश छरिदे कुर्दछन् भीर पाखा ।