असरल्ल अघोरी बाबा
|
पशुपती–गुह्यश्वरीतीरको
श्लेष्मान्तक वनभित्र
एक जटाधारी
कुण्डलधारी
स्वप्नध्यानमा मग्न
एक अलौकिक स्वरुप
बिराजमान छ,
गेरुवस्त्रधारी अघोरी बाबाको ।
कञ्चन हरीयालीको बीचमा
एकान्त कुटीमा
बिशाल मुढाहरुको धुनीमा
अनवरत तपस्यारत छन्
अन्तरध्यानमा विलिन हुने
अनवरत प्रयत्न गरिरहेछन् ।
कुनै समयको कालखण्डमा
उनि तपस्याकै एकल उद्देश्यका साथ
हिमश्रृंखलाको पावन भूमिमा
दक्षिणतिरबाट उकालो लागेको
आसन जमाएको
सुन्नेहरु त्यसै भन्छन्
अघोरी बाबालाई ।
उद्गम र गन्तव्यस्थल
न कसैलाई जानकारी छ
न कसैले खोजी गरेको छ
विचित्रको संसार छ
रहस्यमयी पनि छ
र, सोही मद्होशमा उनि रमाइरहेछन् ।
कसैका निम्ति मानसिक बिक्षिप्त
कोहीका लागि महान
यी अलौकिक प्राणीका स्वरुप
सर्वशक्तिमान ठानिएका
अदृष्यका बीचमा चमत्कार देखाउने
इमान्दार चटकेको स्वरुपका
मनसुवा अघोरी बाबा ।
निस्वार्थको प्रसाद बाँड्छन्
सहअस्तित्वका आदर्शहरु फलाक्छन्
र, प्रेमपूर्वक स्वाद चखाउँछन्
बखान पनि गर्छन
जीवनलाई सहज बनाउन
सबलाई सत्कर्मी परामर्श दिन्छन् ।
भनिन्छ र सुनिन्छ पनि
उनको महिमा अपरम्पार छ
आशावादीलाई ढाडस थप्छन्
निराशावादीलाई प्रेरणा दिन्छन्
र, समन्यायिक स्वरुपमा
उन्नती र सफलताको कामना गर्छन्
आशिष दिन्छन अघोरी बाबा ।
फटाफट बताउँछन्
नियमित आदर्श दर्शालुको भविष्य
निरन्तर आमन्त्रणका बुटी सुनाउँछन् पटकेहरुलाई
बाधा–अवरोध आएमा–देखिएमा
हटाउन–फुकाउने बाचा गर्छन
शुभ–अशुभका संकेतहरु पस्कन्छन्
सफलता हासिल गर्ने अद्भुत तरिका सिकाउँछन् ।
गजबको तान्त्रिक–यान्त्रिक शक्ति छ
न कोही अनुमान लगाउन सक्दछन्
न कसैले अवरोध खडा गर्न सक्दछन्
भन्नेले जेसुकै भनून्
सुनाउनेले जस्तोसुकै सुनाउन्
उनलाई कुनै वास्ता छैन्
निस्फिक्री अघोरी बाबा ।
आरोप र प्रशंसामा समय खेर फाल्दैनन्
बरु सबचिजलाई इश्वरिय देन मान्छन्
शक्ति त उनी आफ्नै ठान्छन्
र, भक्तजनहरुलाई संतुष्ट पार्ने प्रण गर्छन्
प्रशंशा आफू कुम्ल्याउँछन्
अपजसलाई ग्रह–दशाको दोष ठान्छन् ।
हो, उनलाई मान्छेको भीड मनपर्छ
दर्शनका लागि पंक्तिबद्ध हुनुपर्ने ठान्छन्
शक्तिका सामू
मीठो कुरा मिष्ठान झैं उपभोग गर्छन
खस्रा कुरा नजिक नपरेकै उपयुक्त ठान्छन्
बिचित्रका अघोरी बाबा ।
सबका जननी आफूलाई मान्छन्
मान्नेहरुले मान्दिएर पनि होला
उनि आफूलाई अन्तरमनमै भएपनि
सर्वज्ञाता ठान्छन्
अरुको जेसुकै भएपनि
आफ्नाहरुको उद्दार गरेरै छाड्छन्
बिरानाहरुलाई निमिट्यान्न पारीहाल्छन् ।
हो, उनि निष्कलङक देखिन्छन्
आवरणमा पनि त्यसै झल्कीन्छ
अदृष्य पक्ष जेसुकै भएपनि
सतहमा उनि व्यावहारीक छन्
मिठासपूर्ण बोली छ
सबका पृय अघोरी बाबाको ।
समाजमा कहलिएका छन्
इज्जतदार गनिएका छन्
इमान्दार मानिन्छन्
सर्वशक्तिमान ठानिन्छन्
सर्वमान्य पनि भएका छन्
शक्ति प्रयोगको केन्द्र भएका छन्
र, दुष्साहसीहरूलाई पनि झुकाउने यक्ष राख्छन् ।
त्यसैले भन्नैपर्ने हुन्छ
जय–जयकार गाउनैपर्ने हुन्छ
अघोरी बाबाको ।