गज़ल
|कस्तो जिन्दगी यो भास मात्रै रहेछ
डुब्ने हो कि भन्ने त्रास मात्रै रहेछ
पेल्छन् दुर्दशाले चाहना हुन्छ धूलो
पुग्ने हैन इच्छा आस मात्रै रहेछ
निल्छन् हीनताले बस्छ मूढोसरी भै
लाग्यो अन्तरात्मा सास मात्रै रहेछ
बन्दा शक्तिशाली रैछ सम्मान ठूलो
गुम्दा शक्ति आफ्नो हास मात्रै रहेछ
हुन्छन् सोच धेरै गर्न सक्दैन केही
निर्धो देह जिम्दो लास मात्रै रहेछ
खोस्छन् बेबसीले हर्ष उल्लास सारा
हेर्दा बेबसीको दास मात्रै रहेछ
डस्छन् व्यग्रताले जीर्ण पारेर छाती
छाम्दा वेदनाको वास मात्रै रहेछ
चर्को उष्णताले तड्पिएको छ रोजै
पानी छैन काहीँ प्यास मात्रै रहेछ
(म य र र गु)
६ मा विश्राम