विडम्बना
|वैलाए परदेशको बगरमा श्रीराम सीताहरू
सुस्ताए घर खेत मालिक विना बाँझा करेसाहरू
फक्रेका दिल सोमती मखमली छन् व्यग्र पर्खाइमा
पर्देशी सपना बनेन विपना बल्झिन्छ थर्काइमा ।
हर्के जेल विफ्वाँकमा किन पर्यो रुन्छिन् मुमा धर्धरी
शान्ता सागर प्रेम बन्छ पहिरो टुट्ने नजुट्ने गरी
बन्छन् दैनिक सुन्तली सुनकली मुग्लानमा पीडित
सोसिन्छन् श्रमबाट दैनिक जसो आफ्ना गुजारासित ।
नेताका तकदीर फेरिन गए खै देश फेरिन्न रे
उस्तै छन् विचरा मुना मदनका झुप्रा वियोगी हरे !
भत्केका परिवारका विषयमा सोच्ने गरेनौं भने
बन्ने छैन स्वराष्ट्र कर्मठ युवा डाँडा कटायौ भने ।
खिल्ली गर्दछ रेमिट्यान्स धनले हाम्रा युवा किन्दछ
किन्नेमात्र भएन स्वार्थ वशमा मौका परे निल्दछ
उम्दा यौवन अङ्गभगङ् बनिए भो राष्ट्र नै लङ्गडो
ल्याए तन्त्र अनेक देश जनता उस्तै अभागी रह्यो ।
रातो बाकसमा मरेछ सपना उठ्दै नउठ्ने गरी
दु:खीको परिवारभित्र पहिरो रोकिन्न कस्तै गरी
यो पीडा परिवारभित्र नभनौं हो दुर्दशा राष्ट्रको
पाऊन् गाँस कपास बास जनता यै हो समस्या जरो ।
सुन्दा भाषण बन्छ राष्ट्र भनियो इङ्ग्ल्याड सिंगापुर
बोली झैं व्यवहार सम्भव कता खै एकताको सुर
तिम्रा सन्तति थोत्रिए पर कतै जागून् ती भष्मासुर
त्यो सिंगापुर चाहिएन अब होस् नेपाल आफ्नै पुर ।