आमाको नाममा एउटा गीत

चिसो हुँदा खोकिलाको
ऊन ओडाउँथिन्

तातो भए आकाशको
जून ओडाउँथिन्

नपाएमा ऊनहरू
नआएमा जूनहरू

मेरी आमा मुस्कानमा
प्रभातको घाम
मिसाउँथिन।

मेरी आमा मुहारमा
हृदयको फूल फुलाउँथिन् ।

***

माटोलाई खेलाएर
सुन बनाउँथिन्

बाछा-पाठा स्याहारेर
धन कमाउँथिन्

बोटबिरुवा नभएमा
माया बाँड्न नपाएमा

मेरी आमा सुस्केरामा
गोधूलिको पीडा
बिसाउँथिन्।

मेरी आमा मुहारमा
हृदयको फूल फुलाउँथिन्….

***

पसिनाका सप्तकोशी
मन पराउँथिन्

नजरका दोषीलाई
बिगो भराउँथिन्

पानी बनी बग्नलाई
हावा बनी उड्नलाई

मेरी आमा जीवनमा
इन्द्रेणीको रङ्ग
मिसाउँथिन्।

मेरी आमा मुहारमा
हृदयको फूल फुलाउँथिन्….
मेरी आमा …….

One Comment

Leave a Reply to प्रसाई राजेन्द्र प्रसाद Cancel reply

Your email address will not be published. Required fields are marked *