राक्षसहरूको साम्राज्यबाट
|माता !
तिमीले सत्यको पक्षमा लड्यौ
र जितेरै छाड्यौ युद्द
तर मैले भने
सत्य भुलेर
खै कुन दिनदेखि हो ?
शक्तिको मात्र पूजा गर्न थालेछु
र हार्दै आएछु युग युगसम्म
न्यायको लडाईं ।
सत्यलाई कुल्चेर शक्तिलाई पछ्याएछु
झुण्डिएछु शक्तिको पुच्छरमा
जे जे भन्छ शक्तिले त्यहि त्यहि गरेछु
‘शक्ति नै त हो सत्य’यो गहिरो भ्रममा परेछु ।
हो दुर्गा माता !
यही अन्धकारमा
यही भ्रमको कालो ओडारमा
युग-प्रतियुग म नि:सन्देह मरेछु
माफ पाऊँ माता ! माफ पाऊँ !
मैले अक्षम्य भूल गरेछु ।
थाहै थिएन माता !
सबै भन्दा भयङ्कर राक्षस त
सत्य विनाको शक्ति पो रहेछ
तर
त्यो त इतिहासमा
मालिक पनि भयो
नेता पनि भयो
सरकार पनि भयो
दाता पनि भयो
विधाता पनि भयो
र
यि हेर्नुहोस् त
बकासुरहरूकै पञ्जामा
अनुबन्धित छ यो निरिह वर्तमान पनि ।
यही शक्ति नामको राक्षस
परिवर्तनको नाममा
पटक पटक आन्दोलन भएर आयो
भत्कायो घरका झ्याल ढोकाहरू
उडायो छाप्राका छानोहरू
स्कूल गइरहेका नानीहरूलाई
बाटैमा निमोठेर मार्यो
प्रध्यापकको छातीमा गोली ठोक्यो
समयलाई रोकेर राख्छु ठान्यो
आउँदा सपना बाँड्दै आयो
तर
बुद्दको छातीजस्तो गाउँमा बम पड्कायो
तर्सेर कोक्रामै मरे
बस्तीका कयौं कलिला सपनाहरू !
शक्तिको विरूद्द
अर्को शक्ति जन्मियो
शक्तिका होडबाजीहरूमा मर्दै गए सत्यहरू
मारिंदै गए सत्यहरू
थाहै भएन
मुक्तिको सपनामा
अपराधी झैं मुस्कुराएछु कैयौं पटक
टेकेर सत्यको लासमाथि ।
सत्यको खोजी हामी कसैले गरेनौं
सत्यको पक्षमा न म लडें, न कोही लड्यो
न सत्यलाई जिताइयो, न सत्यले जित्यो
माता !
हरेक युद्द जितेको ठानेर उभिएको म
नतमस्तक छु तिम्रो सामु हारेर
जितें भनेको एउटा युद्द नसकिंदै
अर्को युद्दको निम्ति उभिएको छु
गल्ति गरें माता ! मैले गल्ति गरें
शक्तिलाई नै सत्य ठानेर
मैले अपराध गरें ।
अरू त अरू
आज म
तिम्रो शक्तिको पूजा गर्न पनि डराएको छु
क्षमा देऊ माता !
आज म प्रथम पटक
सत्यको,
खालि सत्यको पूजा गर्न आएको छु ।