दशैंको बिन्ति

 

मिर्मिरेमा चिरबिर गर्दै मैना बोली दशैं आयो
छायो मुस्कान मखमलीले सयपत्रीले सुवास
झिसमिसेमा कागले पनि सन्देश ल्यायो दशैं
सौन्दर्य र शुद्धताको सँधै नयाँ बहार ल्यायो ।

रोप्यो प्रेम जमराले आनन्दको आभाष छायो
जताततै खुशियाली उमङ्गको प्रहर ल्यायो
देशमा पनि दशैं आयो परदेशमा पनि दशैं
गाउँ शहर जताततै हर्ष अनि उल्लाश छायो ।

मयुर नाच्यो तराईमा कोइली गाउँदै भोटमा
लगे खबर जताततै घर आँगन गुँड र गोठमा
बिन्ति गर्न थाले बस्तुभाउले सुँक्क सुँक्क गर्दै
गाँठोपारि मुटुभित्र टिलपिल टिलपिल आँशु झार्दै ।

तिमीलाईजस्तै चाडपर्ब हामीलाई पनि आयो
हामीलाई पनि मालश्री धुनमा नाँच्न मन लाग्यो
धानका बाला लरिबरी झूला झुले जस्तै गरी
अङ्गालोमा शरदको झुल्न हामीलाई रहर लाग्यो ।

ब्यथा उस्तै पिडा उस्तै तिम्रो पनि हाम्रो पनि
बाँच्न मन उस्तै लाग्ने रैछ पशु जाति भए पनि
माया दियौ पाली-पोसी छोराछोरीजस्तै गरि
बलि दिने कुरा सुन्दा दुख्यो मुटु फुट्ने गरी ।

रमाउन देऊ यो दशैंमा पक्का बाचा गर्छौं हामी
बाँचुन्जेल सेवा गर्छौं काम लाग्छौं तिम्रै लागि
पशु जाति भए पनि वफादार छौं है हामी
पाले पोसेको गुन तिर्नेछौं बाँचे मरे भोलि ।

सेवा माग्दा सेवा दियौं, दूध माग्दा दियौं दूध
पाली पोसी बलि दिन्छौ के भयो हाम्रो भूल ?
नियालेर हेर त तिम्रा पशुभावका सोचाईहरु
बलि दिउँ त्यही सोचाईको जस्तो लाग्छ बरु ।

अदृश्य छन् जगन्माता बोल्छिन् उनी वेदको भाषा
असाध्य छ बुझ्न कठिन बुझेनौ कि वेदको गाथा
बलि दिंदा पशु भावको खुशी हुन्छिन् दुर्गा माता
नाश भन्छिन् मनको विकार त्याग रिस हिंसा अब।

Add a Comment

Your email address will not be published. Required fields are marked *