ट्रान्जिट
|
जिन्दगी एक यात्रा रहेछ
एक शहर देखी अर्को शहरसम्मको
एउटा झिलिमिली जात्रा रहेछ
एक रहरदेखी अर्को रहरसम्मको !
मजस्तै एउटा फकिर
आइपुगेको थियो यो ठाउँमा
एक वर्ष अगाडि
र, बस्दै जाँदा
एउटा जुन उदायो उसको लागि,
एउटा गुलाफ फुल्यो उसको लागि
प्रितका केही सुन्दर हरफहरु कुँदिए
उसको मनको खाली पन्नामा
अनि उसले झोला बिसायो
र, भन्यो जिन्दगीले आड पायो !
आज एक वर्षपछि
जुनले पोल्छ र,भन्छ-
माफ गर फकिर
समय बदलिसक्यो
म नि बदलिसकें ।
आज एक वर्षपछि
गुलाफले घोच्छ र,भन्छ-
माफ गर फकिर !
समय बदलिसक्यो
म नि बदलिसकें ।
आँफैले गाउने गरेको प्रेम गीत
आज फकिरको लागि
बिरक्त लाग्दो
शोक गीत भएको छ ।
हिजो हिंड्ने गरेको प्रेमको बाटो दोबाटोले
उसको मजाक उडाउन थालेको छ
फकिर !
ओ फकिर !
तेरो वायुपंखी पाइलामा
कस्ले कल्ली बाँधिदियो ?
किन हराए हराएजस्तो छस् ?
किन डराए डराए जस्तो छस् ?!
एउटा साँझ
अन्तिम कप
कफीसँगै
गन्तब्यले भन्यो
झोला बाँध फकिर
अनी बाटो लाग् ,
म तेरो गन्तब्य कहिले थियिन
तँ आँफै भ्रममा परिस् ।
यो एक टुक्रा रातमा
निदाउन नसकेको फकिर
सोचमग्न छ
के यो ट्रान्जिट मात्रै थियो !?
जहाँ मैले सधैंका लागि झोला बिसाएको थिएँ ।
म सम्झाउँदै छु
सुत् फकिर सुत्
भोली चाँडै उठेर
रवर्ट फ्रस्टको कविता गुनगुनाउँदै बाटो लाग्नु छ
माइल्स टु गो बिफोर आइ स्लिप !
माइल्स टु गो बिफोर आइ स्लिप !!
Wow wow sir