छायाँ
|’कता ?‘
ठमेलको सङ्घारमा
पुग्ने बित्तिकै
छायाँले
यस्तो प्रश्न गरेपछि
मैले पनि उत्तर नभनि
प्रश्न नै गरेछु-
‘ओ ! तिमी पनि बोल्छ्यौ र ?
किन र ? सोधिन्
र, भन्न थालिन् –
म मौनतासँग बोल्छु
र, मौनताबाटै सिक्छु ।
हल्लामा शक्ति हुने भए
मान्छे किन जान्थ्यो
मौन मूर्तिको अगाडि
र, माग्थ्यो शक्तिको भिक्षा ?
थपिन् पनि –
मौन बस्नेलाई
कमजोर नठान्नु
चुप लाग्नुको अर्थ
शब्द सकिनु हैन !
तिमी चैं भन्दैनौ कता हिंडेको ?
फेरि सोधेपछि ढाँट्न सकिन
र, भनें – ट्याटु खोप्न !
के खोप्छौ ?
‘मेरै कथा !
ट्याटूमा मान्छेले
आफ्ना कथा खोपेका हुन्छन् ‘
‘रङ्ग ?’
‘रातो !
रहरका रङ्गहरू राता हुन्छन् !’
कुराकै बीचमा
झुल्कियो प्रकाश
प्रकाशको उपस्थितिमा
छायाँ झन गाढा बनिन् !
र, उत्साहमा भनिन् पनि –
एक्लै देखेर
छायाँलाई नजिस्काउनु
हरेक छायाँको छेउमा
प्रकाश उभिएको हुन्छ ।
जानुअघि,
सोधें छायाँलाई-
’ट्याटू खोप्दिनौ ?’
भनिन् – म आँफै ट्याटू हुँ
प्रकाशका कथाहरूको !
मलाई त साह्रै स्वादिला लाग्छन्
उसका कथाहरू ।
ठिक भन्यौ-
प्रकाशका कथाहरू
साह्रै मिठा हुन्छन्
किनकि, ती कथालाई
छायाँले झानेका हुन्छन् !
छायाँमा कुनै मिसावट हुँदैन
छायाँले
ऐना हेरेर
आँफै कस्मेटिक दलेको हुँदैन।