गजल


जालीहरूको मन हुन्छ कल्मष
उन्मादले यौवन हुन्छ कल्मष

सद्प्रेम फुल्दैन कदापि स्वार्थमा
देखावटी कानन हुन्छ कल्मष

सदाशयी भाव रहन्न दुष्टमा
कुभावको आँगन हुन्छ कल्मष

हुँदैन विश्वास नृशंस साँपको
विषाक्तको चिन्तन हुन्छ कल्मष

पुजिन्न कालो धन लोकमा कतै
दुर्वृत्तिको आर्जन हुन्छ कल्मष

निकृष्टले भुल्छ पवित्र मित्रता
दुराग्रही बन्धन हुन्छ कल्मष

बोल्दैन साँचो कहिले कुख्यातले
षड्यन्त्रको वाचन हुन्छ कल्मष

भलाइ गर्दैन वृथा प्रशस्तिले
खुशामदी गायन हुन्छ कल्मष

कहाँ छ खै “कोमल” सोच धूर्तमा
दुसाधको आसन हुन्छ कल्मष

(उपजाती)

 

@KomalBhatta

Add a Comment

Your email address will not be published. Required fields are marked *