सम्बन्ध

तिमी मेरा मित्र हुन सकेनौ
म कसैलाई शत्रु बनाउने सोचमा छैन
कृपया मलाई निरपेक्ष रहन देऊ
तटस्थ रहन देऊ ।

मनभरी मुठीको माखो बनाउने
माकुरेजाल बुन्दै
मलाई
अझ प्रगाढ मित्रताको
मन्दविष नपिलाऊ ।

नियतिको सिकार भएको म
एक्लै रुन चाहन्छु
शान्त्वनाको निहुँ पारेर
मेरो मझेरीमा
तिम्रा कलुशित बुटहरू
नबजाऊ ।

थाहा छ –
हितैसी ठानेर
मनको बह पोखें भने
तिमीसँग
तिमीले मेरो सिरिखुरीमै
आँखा गाड्नेछौ
र, मलाई
मेरै घरमा
सधैंकोलागि मगन्ते
बनाउनेछौ ।

त्यसैभएर
तिमीले चुम्बा खान खोज्दा पनि
विषकन्याको गन्ध आएको
हो मलाई
दाउपर्दा घाँटी निचोर्न
खोजेर
बेमौकामा अँगालो मार्न खोज्ने तिम्रो बानी सम्झँदा
एउटा सुधो गाई
र एउटा छट्टु ब्वाँसोको
सम्झना भएको हो मलाई।

आकारमा हुँदा हौ
तर
हृदयको तहमा तिमी
विशाल हुन सकेनौ
त्यसैले
तिमी मेरो मित्र हुन सकेनौ
म कसैलाई शत्रु बनाउने
सोचमा छैन
सम्बन्ध त्यस्तो पनि त
हुनसक्छ
छिमेकी भएर पनि
अपरिचितहरूकोजस्तो
सम्बन्ध !

कृपया मलाई
निरपेक्ष रहन देऊ
तटस्थ रहन देऊ
गर्नेले जसरी
भोग्नेले कसरी
बिर्सनसक्नु र
नाकाबन्दीको पीडा !

कृपया मलाई
फेरि
घनिष्ठताको जहर
नपिलाऊ ।

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *