आफ्नो मान्छे हराएँ
|मेरो आफ्नो मान्छे कता गयो !
कता हरायो खै पत्तै भएन
आफ्नो सामु देख्न खोज्थें
आफूसँगै रमिदिन चाहन्थें
एउटा फूलको गुच्छा उपहार
दिएको थिएँ स्वीकारेस् भनी
तर के गर्यो खोइ त्यो फूल
नसजायो न कतै मिल्कायो
न त बिना अर्थ ओइली गयो
हाम्रो गाउँमा मोबाइल थिएन
सोच्दथें मेरो सम्झनाको बज्र
उनको ढड्कनमा ठोक्कियोस्
कल्पन्थें आशाको दियो बल्दैछ
तर म कठै कती रोएँ
मेरी आमा भन्नुहुन्थ्यो
“मान्छे सोचेर संगी बनाउनु”
ती दिनहरु सम्झदा साह्रो
बिचलित हुन्छु
अनि मैले लेखेको थिएँ
एउटा कबिता “म रोएको बेला”
हो साँच्चै म आकुल ब्याकुल थिएँ
आकाश खुल्लै थियो अनि धर्ती पनि
भगवानलेनी मेरो चित्कार सुन्नु भएन
भुल्न खोजें “देखेको पाउन्न रैछ भनी”
आफ्नो मान्छे नभेटिएर कतै
भन्थिन् मेरी आमा दुःख नभोगी
जीवनको अर्थ हुन्न
चोट नखेपी मानिस भइन्न
तरै पनि भनें मेरी आमालाई
मेरो मान्छे जस्सरीनी खोजीदिनु
अथाह हाँसोका पलहरु अनि ठट्टयौलीहरु
आज रम्ने प्रयासका ऐना बनीरहेछन्
उसले दिएको एउटा अंग्रेजी गीत थियो
त्यो गीतमा खै कुन्नी के भन्न खोजेको थियो
म त गाउँकी मान्छे
अंग्रेजी भाषा केहि जान्दिनथें
शहरकालाई सोध्लीस् “भन्थिन् आमा”
तर पल्लो गाउँ सर्दा कता हराएँ
आफ्नो मान्छेनी भेट्टाउनै सकिन
आखिर मैले के बिराएँ !
आफ्नो मान्छे जिवनबाट हराएँ