मुस्कान

‘मुस्कान !
कस्तो छ त्यो ठाउँ’
बाटो एकदमै अफ्ठेरो छ,
तिमी नआऊ
आउनुपरे म आफैँ
आउँला ।

अचेल
मलाइ यहाँका ढुङ्गाले
चिन्न थालेका छन्
बिहानै चिरविर गर्दै उठाउने
यहाँका चराहरू
मेरा साथी भएकाछन् ,
यहाँका प्रत्येक आँगन
आफ्नै लाग्न थालेका छन्,
यहाँका खोला, बन, झाडी
बुट्यान पाखापखेरु
म एक्लो हुँदाका साथी
बनेका छन् ।

हाँस्नुपरे
यी पहाड हेर्दै हाँसुला
रुनुपरे
यो बादल हेर्दै रोउँला
नाच्नुपरे
मयूरसँगै नाचुँला
गाउनुपरे
कोइलीसँगै गाउँला
झर्नुपरे
झरनासँगै झरुँला
तर झरेँ भने पनि
झरना जस्तै कञ्चन झर्छु
हिलो जस्तो लतपतिन्न ।

त्यसैले प्रिय
तिमी अहिल्यै नआऊ
तिमीले नै भनेको हैन र ?
यात्रामा
गति मिलेन भने
बाटो पनि अन्तै मोडिन्छ
गतिमा साथ मिलेन भने
साथी पनि
बीचमै छोडिन्छ ।

धरोधर्म,
आउनुपरे
म आफैँ आउँला
कोइलीलेजस्तै गीत गाउँदै
कर्मीटार बस्दा
डिम्मेडाँडाको चौरमा
तिमी र म बसेर
गीत गाए जसरी नै ।

3 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *