एकल महिला बिवाह सन्दर्भमा समाजको दृष्टिकोण
|फेसबुकमा चिनेकै एकजना लेखिकाले कुनै चलेको अनलाइनको एउटा लेख सेयर गर्नुभएको रहेछ,उहाँ आँफैले लेख्नु भएको । मैले सर्सर्ती हेरें । एकल महिलालाई बिहे गर्न नदिने बाधक समाज हो भनेर समाजलाई गर्नसम्म गाली गरिएको थियो । त्यसो त उहाँ आँफै पनि एकल महिला हुनुहुन्छ । प्रतिक्रिया दिनेहरूले लेखेका थिए– सही कुरा । एकल महिलाको वास्तविक पीडा । समाजको पिछडिएको सोच । नारीलाई हेर्ने अनुदार आँखा । यस्तै छ समाज । साँच्चै क्रान्तीकारी सोच । प्रगतिवादी लेखिका । यस्तै लेख्दै जानुहोस् आदि ।
म किन किन लेखिकासँग सहमत हुन सकिरहेको थिइन । त्यो पढिरहँदा मेरो मनमा अरू कयौं प्रश्नहरू बरर्र उम्रिरहेका थिए । हामी बाँचिरहेको वर्तमान समाज यतिधेरै बाधक छ त एकल महिलाहरूलाई पुनः बिबाह गर्न दिनको निम्ति ? मलाई यस विषयमा केही लेख्नै पर्छ जस्तो लाग्यो र प्रतिक्रिया स्वरूप यो सानो आलेख तयार पारेको छु –
मलाई लाग्छ-अब कुनै पनि एकल महिलाले बिबाह गर्दा समाज बाधक हुँदैन । गाऊँघर कुना-काप्चामा यो समस्या नगन्य रूपमा भएपनि शहरमा भने यो समस्या छैन । कम्तिमा लेखिकाले लेख्नु भएको पढ्न सक्ने हैसियत राख्ने फैलावटसम्म यो समस्या छँदैछैन । त्यो परिवेशसम्म यो समस्याले असर गरेकै छैन । जहिले पनि समाजलाई आरोप लगाएर पन्छिने परम्पराबाट अब तपाईं-हामी माथि उठ्नुपर्छ । हामीले अब इमान्दार भएर लेख्ने हिम्मत गर्नुपर्छ । आफू क्रान्तिकारी भएर चिनिन कै लागि वा प्रगतिको पक्षपाती हुने लालसामा सँधै दोषको खेती गरेर लेख्नुपर्छ भन्ने टेक्निक प्रयोग गर्न छोड्नुपर्छ अब । यथार्थ समस्या लेख्न झन् ठूलो हिम्मत चाहिन्छ । बरू सकिन्छ भने त्यो लेख्ने हिम्मत गर्नुपर्छ ।
तपाईं र तपाईंजस्ता कयौं एकल महिलालाई बिहे गर्न अब न त समाजले रोकेको छ, न त कानूनले नै । तपाईंको सपनाको राजकुमार नै त कसरी सिर्जना गरिदिन्छ र समाजले ? बरू मनमिल्दो र भनेजस्तो वा भरोसा गर्न योग्य कोही केटो पाए बिबाह गर्ने ईच्छा छ भनेर आफ्नो कुरा बाहिर ल्याउने हिम्मत गर्नुपर्छ । सँधै आफूभन्दा योग्य खोजेर मात्र पनि हुन्न । आफूभन्दा थोरै कमजोरलाई पनि माया गर्ने र जीवनसाथी बनाउने हिम्मत निकाल्नु पर्छ अब तपाईंहरुजस्ता अगुवा महिलाहरूले,जुन अक्सर पुरूषले गर्छ र ऊ बिबाह गर्न सफल हुन्छ । एकसे एक समान वा अब्बल न कोही हुन्छन् न खोजेर नै पाइन्छ । अब खास समस्यामा केन्द्रित भएर हरेकले बस्तुसत्य बोल्न सक्नुपर्छ । कम्तिमा कोसिस त गर्नुपर्छ । जे कुरामा पनि समाजलाई दोष देखाएर आफ्नै मनको कुण्ठा र आशङ्का मात्र व्यक्त गर्न खोजेर न तपाईँको समस्या समाधान हुन्छ, न त अरु कसैको ? समस्या तपाईंको लागि उपयुक्त र्थात तपाईंले बनाएको मापदण्डअनुसारको व्यक्तिको अभाव होला । तर समाजले बिहे गर्न नै दिंदैन भनेपछि तपाईँको लागि राम्रो वा उपयुक्त वा आफू समान नै सही वा आफूभन्दा अब्बल जीवनसाथी कसरी भेटिन्छ र ? ‘म कुनै उपुक्त पुरूषको खोजीमा छु । तर भनेजस्तो पाएको छैन।’ अब तपाईंले प्रस्ट यसो भन्न सक्नुपर्छ । तपाईंले नै त्यसो भन्न थालेपछि तपाईंलाई कोही रोक्न त आउँदै आउँदैनन् मात्र होइन अरू तपाईंजस्ता वा तपाईंभन्दा कमजोरहरूका लागि पनि प्रेरणा हुन्छ र तिनको पनि समाजको बाधा हट्न थाल्छ । अब समाजको बाधा हटाउने र उदाहरण बन्ने बाटो यो हो ।
खासमा अचेल कुनै एकल महिलालाई कस्ले बिहे गर्न रोकेको छ र ? आँफै सोचिहेर्नुहोस् त । सासु-ससुरालेसमेत उमेरकी बुहारीको बिहे गरिदिन थालेकाछन् । कस्ले कुरा काट्छ ? कुरै काट्न त एकल महिला हुनै पर्दैन नि ! अलिकति शारीरिक रूपमा या भनौं परम्परागत नजरमा नराम्रीजस्तो भएर जन्मिएपछि उनीहरूको पनि यत्तिकै कुरा काटिएकै छ । बिबाह त त्यस्ता कयौं कुमारी केटीहरूको पनि त भएको छैन नि ! तपाईँ त एकल महिला हुनुभयो र समाजलाई दोष दिने अधिकार राखेजस्तै कुरा गरेर हिंड्नुहुन्छ । तर यी बिहे नै हुन नसकेका छोरीचेलीले भने दोष दिने कस्लाई त ?
हो,जीवन छ र त चुनौती पनि छ । पाइला पाइलामा निर्णय गर्न सक्नुपर्छ । नत्र जिन्दगी कुन बाटोले कहाँ पुर्याउँछ पत्तो हुन्न । जीवन संघर्ष हो । समाज बिनाको जङ्गलमै पनि सङ्घर्ष गर्नै पर्छ । यसर्थ अरूलाई दोष लाएर रोनाधोना बन्द गर्नुहोस् । यथार्थलाई स्वीकारेर जो बास्तविकतासँग लड्ने हिम्मत गर्छ, प्रगतिवादी लेखनको पहिलो सर्त यही हुनुपर्ने हो । क्रान्तिको पहिलो पाइलो यसरी सुरूवात हुनुपर्ने हो । छ एउटा कुरो, अतिरन्जित गरिन्छ अर्को कुरो, अनि पुगिन्छ कसरी गन्तव्यमा ?
यी कुरा गर्दा तपाईंको लागि म रूखो सुनिन्छु होला । तर तपाईँ र तपाईँजस्ता कयौं एकल महिलाहरूको भलाई यसैमा छ । अब पुराना विचारहरू,पुराना समाजका समस्याहरूले फेरी पनि पत्रिका रंग्याएर नारीवादी हुन खोजेर गर्नु चाहीं के ? भयङ्कर विद्रोहको स्वर ओकल्ने एकल महिला नेतृ मात्र बन्न खोजेर हुन्छ के ? त्योभन्दा अघि आउनुहोस् र अरू केही लेख्नुहोस्। चिल्सा परेका समस्या र विचारहरू पढ्न लगाएर मान्छेको समय बर्बाद गर्नुहुन्न । समाजलाई छक्क पार्नुहुन्न । तपाईंले एकल महिलाले बिहे गर्दा समाज उदार देखिंदैन भनेकै समाजमा यौन व्यबसायको लागि सरकारसँग लाइसेन्स माग्दै हिंडेका नारीहरू पनि छन् । यहाँभन्दा अघि बढेर उदाहरण अरू के दिउँ ? हो, हिजो अर्थात् एक दशक वा दुई दशक पहिले यो कुरा सम्भव थिएन होला । मान्छेमा अहिलेकोजस्तो व्यक्तिगत स्वतन्त्रताको पैरवी गर्ने साहस पनि आइसकेको थिएन । तर अब अवस्था त्यस्तो छैन ।
अब पनि तपाईंलाई लाग्दैन कि तपाईंले नभएको दोष समाजलाई दिएर लेखिरहनु भएको छ ? मैले यो सब लेखिरहनुको कारण हामीले खास समस्याको चुरोमा कलम नचलाउने र सँधै विषयान्तर गरेर मात्र लेखिरहने हो भने त पोखरी शिर्षक राखेर हामी आहाल लेखिरहेको हुनेछौं । त्यो पनि भैंसी बस्ने । नलेखौं यसरी । कचौरा भरीको समस्यालाई महासागर बनाएर नलेखौं । खतलाई कोट्याएर घाउ पनि नबनाउँ । नभएको ‘इस्यु’ लाई अनावश्यक रूपमा उचाल्न थालियो भने त्यो भयङ्कर लाग्दै जान्छ । आदरणीय लेखकहरू ! हामी कसैले पनि अब यसो नगरौं ।
अचेल कलम बोकेकाहरूले नै आफ्नै मनको बाघ सिर्जना गरेर समाजमा हाऊगुजीको खेती गरिरहेछन् । यो लेखनको एक परम्परा बनेको छ । कि त हुँदै नभएको, कि त भत्किसकेको पहाड पुन: सिर्जना गरेर त्यसलाई भत्काउनु पर्छ भनिरहेछन् । अब यसरी झुठको खेती लेखेर क्रान्तिकारी देखिन र चर्चामा आइरहने कसैले पनि गर्नुहुँदैन । मिडियाहरूमा अब आवश्यक र यथार्थ कुरा छापिनु पर्छ । पुरानै गन्थन वा पुराना मानसिकताको त्रास होइन । नयाँ विचार आउनुपर्छ । नयाँ उदाहरण र प्रयोगको प्रचार हुनुपर्छ । समाजका नयाँ समस्या र समाधानका उपाय पाठकहरूले पढ्न पाउनुपर्छ । तपाईं-हामी सबैले यसमा साथ दिनुपर्छ । समाज नवीन सोच र प्रयोगलाई स्वागत गर्न तयार छ ।
यदि तपाईं कलम बोक्ने भित्रै समाजप्रतिको आशङ्का साँच्चै नै मरेको छैन भने त्यसलाई अब बदल्नुपर्छ । यदि तपाईँ नै बिबाह नगरी एक्लो र स्वतन्त्र जीवन जीउन चाहनुहुन्छ तर पनि आफ्नो बिबाह नहुनुको कारक भने समाज हो भनेर क्रान्तिकारी लेखक बन्न समाजतिर दोषारोपणको झट्टी हान्नुहुन्छ भने अबको समाज तपाईलाई नै हेरेर हाँस्नेछ । सक्नु हुन्छ भने तपाईं आँफैले आँफैलाई समाजको हाँसोको पात्र नबनाउनुहोस ।