भाइलाई सन्देश

लटरम्म धानको बाला लाग्थ्यो सुनै फुलेसरी
शरदको मौसम राम्रो  न त जाडो न त  गर्मी
फेरिन्थ्यो घरको मुहार  रातोमाटो र कमेरोले
रङ्गीचङ्गी आँगन मखमली र सयपत्रिले ।

रमाउँथे सँगै बसी  काग कुकुर गोरु गाई जम्मा
कुरा गर्थे गुनगुन सबै खुशी हुन्थे सम्मानमा ।
आशिष दिन्थे भैलेनीले घर घरमा लक्ष्मीपुजा
तिहारको महिमा भैलो देउसी मिठो भाकामा ।

घर घरमा पाक्थ्यो मिठो सेल रोटी सबैथरी
लाग्थ्यो हेर्न रमाइलो पटकाको आतिशबाजी  ।
लक्ष्मीपूजा गर्थ्यौं हामी झिलिमिली बत्ति बालि
स्वागत गर्थ्यौं लक्ष्मीको रङ्गोलीमा फूल छरी।

शिरमा भाइको ढाका टोपी निधारमा सप्तरङ्गि
माला लगाई आशिष  सुस्वास्थ्य र दिर्घायुको
भाइले दिन्थे उपहार राम्रो लाग्ने ढाका चोली
खुशी हुन्थ्यौं हाँस्दै खेल्दै हामी दिदी-बहिनी ।

सम्झनाले बाल्यकालको रोयो आज मेरो मन
कहिले होला रमाउने प्यारा मेरा दाजु भाइसँग
उढी आउने मन थियो भाइ तिमीलाई भेट्न भनि
बाटो छेक्यो बाध्यताले पर्यो मन रोक्न पनि।

रुने छैन यस तिहारमा मैले बाचा गर्छु आज
रमाउनेछु सम्झनामा राखी तिमी मनको माझ
स्वदेशमा आउने तिहार परदेशमा ल्याउँछु अब
खुशियाली र उमङ्गले  तिहार मनाउनेछु अब ।

बोलाउँदैछु तिहार भैलेनीको मिठो धुन बजाई
सजाउँदैछु झिलिमिलि दियो बाली तिहारलाई
सम्झनामा मैले तिम्रो रोपी सकें फूल सयपत्री
पकाउने सेलरोटी फिनी गाँस्ने माला मखमली ।

निम्तो छ है भाइ तिहारको सम्झनामा आउनु
हिरामोती चाँहिदैन मलाई माया दिनु मन मुटुभरी
घरभित्र होइन तिमी बस्नु मेरो मनको मझेरीमा
ढोका खोलि मनको राख्छु मनको सिंहासनमा ।

मनदेखि गर्छु तिम्रो पुजा सम्झिएर प्यारा भाइ
रङ्गाउने टिका  सात रङ्गमा प्रेमको रङ्ग मिसाइ
खाली तिम्रो निधारमा सप्तरङ्गी टिको लाइदिनेछु
फोरी ओखर भाइ बाधाअड्चन सबै नासिदिन्छु ।

हसाउँदै अरुलाई भाइ तिमी खुशी सुखी हुनु
निरोगी त्यो जीवन बनोस् चीरन्जिवी  तिमी हुनु
सफलताले शिखर चुमोस परिवारमा शान्ति होस्
आशिष दिन्छु तिहारको जीवन सफल बनोस् ।

2 Comments

Leave a Reply to Hari Pathik Cancel reply

Your email address will not be published. Required fields are marked *