ए-कता !

यहाँ पनि चुनाव थियो
चुपचाप मतदाता आए
भोट दिए गए
न कुनै पर्चाबाजी
न त कुनै खुट्ट ताना-तानी ?

काउन्टीको चुनाव
नगर काउन्सिलको चुनाव
डिस्ट्रिक वा स्टेट ?
न कसैलाई गाली
न कसैको ताली !

न कुनै भाषण गर्जियो
न फेसबुकेले स्टाटस छर्दियो
ठूलाहरुका ठूलै चाला
नमच्चिने पिङको सय झड्का
नक्कली ठालूहरूको संधै झगडा ।

के गर्नेलाई भन्दा के देख्नेलाई लाज
सिनु झम्टने कागको बाजा-बाज।

सुराकी सुईंको दुई कान मैदान
कानको जालो सुन्दैमा हैरान
काम नपाए डालाको भुईंमा
सकि नसकि उठाएर थन्क्या ।

आए आँप गए झटारो
समाजसेवा गर्ने  नाममा जुँगाको लठारो
कामभन्दा कुरै ठूलो
संस्थाभन्दा इगो कै झटारो ।

एकता हरायो तिक्तता बढायो
प्रजातान्त्रिक नामले संस्था डढायो
घरै जलाई खरानीको राप
विकासका नारा बुझ्नेलाई सन्ताप ।

टाउके हराए भुनभुन झिङ्गा
जहाँ  जाउँ  उही चाला
सबै जोगी कानै चिरेका
यो  चाला कैले जाला
कुकुरको पुच्छर के गरे सोज्जिएला ?!

बुझ्नेलाई श्रिखण्ड
नबुझ्नेलाई खुर्पाको बिंड
मुखमा राम-राम बगलीमा छुरा
ए साथी ! हामी जाँदैछौं कता !?

Add a Comment

Your email address will not be published. Required fields are marked *