कृत्रिम मुस्कानका फूलहरू

हो, हामीहरू यसरी नै बगिरहने छौं
जसरी बग्छ पानी
हिमालदेखि पहाड हुँदै
तराईबाट भारत प्रदेश बगेर
हिन्द महासागरको गर्भमा विलिन हुन्छ ।

हामी पानी हौं अविरल बगिरहने
हिमाल र पहाड छुट्टिंदै
अनि छुटिंदै पहाडबाट तराई
पानीकै दिशातिर
हिन्दुस्तानको विशाल गर्भमा
सानो देशका नेपाली हुनुभन्दा
ठूलो देशको बासिन्दा हुन ।

हामी गर्वले आँफै
केही थोपा वीर्यहरूको भीक्षा मागेर
आफैं गर्भ बोकिरहेका छौं
र, इतिहासमा कहिल्यै पराजित नभई
आफ्नो कौमार्य जोगाएका हामी
आँफैमाथि बलात्कारको आह्वान गरिरहेका छौं ।

समुद्रमा विलयपछि
हामीलाई कुनै पहाडले छेक्ने छैन,
कुनै भंगालामा खस्नुपर्ने छैन
दह र पोखरीमा कहिल्यै कैद हुनुपर्ने छैन
र कहिल्यै बग्नुपर्ने छैन
खहरे, खोला र नदीका किनारहरूमा ।

समुद्रभित्र
आफ्नो परिचय हराए पनि
दोस्रो दर्जाका नागरिक नै सही
एउटा राज्य कसो नपाऔंला ?
कसैको मुट्ठीभित्र भए पनि
पिंजडामा सुँगा कैद भए पनि
हाम्रो आवाज दबाएर
फेरि पनि हामी मरेतुल्य बाँचिरहने छौं ।

बाध्यताले आँसुहरूलाई
आँखाभित्रै लुकाउनुपरे पनि
राष्ट्रवादको बोझ बोक्नुपर्ने छैन
छिमेकीको हेपाइ सहनुपर्ने छैन
दास भएर बाँचौला बरु
कसैको दलाल हुनुपर्ने छैन ।

हामीले गुमाउनुपर्ने भनेको
राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान गुमेको
एउटा  लघुताभाष न हो
हामीले सहनुपर्ने भनेको
वीर नेपाली पहिचानको
एउटा अपमान न हो ।

हामीले हार्नुपर्ने भनेको
नालापानीको विरुद्ध कालापानी न हो
लिपुलेकबाट उनीहरू छिर्दै गर्दा
हामी पनि दूतावासमा छिरेकै छौं
लेनदेनमा तलमाथि हुन्छ नै
मन्त्री प्रधानमन्त्री बन्ने हामी नै हो
बदलामा अलिकति सीमा खुम्च्याउनुपर्ने न हो ।

हाम्रो मन र मस्तिष्कभित्र
जस्तोसुकै पीडाको आकाश खसे पनि
हामी आत्मघाती गोलका खेलाडी कहलियौं त के भो ?
आफूलाई निःशुल्क बेचेर
आँखा र अनुहारमा लज्जा लुकाउँदै
दक्षिणी भूभागको गर्भमा
विशाल राष्ट्रको परिचय बोकेर
कृत्रिम मुस्कानका फूल हाँस्न नसकौंला र ?

Add a Comment

Your email address will not be published. Required fields are marked *