झुक्दैन कैल्यै पनि वीर जाति
|
नौलो जमाना छ नयाँ छ आँट
जाग्दै पहाडी अब कन्दरा छ
लिएर आफ्नो हक ठोक्छ छाती
झुक्दैन कैल्यै पनि वीर जाती
मागेर कैल्यै पनि खाइँदैन
थोत्रा जडौरी पनि लाइँदैन
भाँग्रो लगाएर उमाल्छ पाती
झुक्दैन कैल्यै पनि वीर जाती
नुग्दैन कैल्यै पनि शैल सेरो
रुक्दैन कैल्यै इतिहास मेरो
मधेश छन् ढाड पहाड छाति
झुक्दैन कैल्यै पनि वीर जाति
सहन्न हेपे मिचिए सिमाना
नसोच निर्धो म हुँ शान्त मान
लड्छौँ र मर्छौँ बरु शीर काटी
झुक्दैन कैल्यै पनि वीर जाति
म बुद्द हूँ रूद्र र रक्तबीज
नसम्झ सानो अदना म चीज
आकाश को सक्दछ निल्न साथी
झुक्दैन कैल्यै पनि वीर जाति
